काठमाडौं, २० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा विरोधको लागि विरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सरकारका राम्रा कामहरूलाई प्रभावित नगर्ने बताएका छन्। उनले राम्रो काम गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारेका छन्।
मंगलबार ट्रेड युनियन आन्दोलनको ७८औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोध गर्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै भने, “अहिले कसैकसैको बानी परेको छ, जेमा पनि विरोध गर्नुपर्ने हुन्छ। जे गरे पनि विरोध, जसो गरे पनि विरोध। हामी बेलुका खान्छौं भन्यो भने त्यसको पनि विरोध हुन्छ। निहुँ खोज्न अनेक उपाय निकाल्छन्। कसरी खान्छस्, कहाँबाट ल्याउँछस् भनेर निहुँ खोज्छन्।”
उनले यस्तो प्रवृत्तिलाई ‘बानीको अल्गोरिदम’ भन्दै टिप्पणी गरे। उनका अनुसार, यो प्रवृत्ति ग्रोयवल्स शैलीको हो, जसमा झूट हजारौँ पटक दोहोर्याएपछि सत्यजस्तो लाग्न थाल्छ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रको सरकार रहँदा माओवादी केन्द्रकै एक सांसदले पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको विषयमा ठूलो हल्ला मच्चाएको स्मरण गराउँदै छानबिनपछि केही पनि नभएको पुष्टि हुँदा पनि उनीहरूले पशुपतिनाथसँग क्षमा नमागेको बताए। उनले भने, “तीनले पशुपतिसँग क्षमा पनि मागेनन्, लाज पनि लागेन। यस्ता खालका मान्छे पनि छन् नेपालमा। यिनलाई देश बनाउन वा विकास गर्न कुनै चासो छैन।”
प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै नकारात्मक प्रवृत्तिहरूबाट विचलित नहुने बताए। उनले भने, “हामीलाई कामसँग मतलब छ। हामी अघि बढ्दै जान्छौं। को कता विरोध गर्दैछ, त्यो हाम्रो मतलबको विषय हुँदै होइन। प्रकृतिको पनि आफ्नै नियम हुन्छ, खोलो र हावा आफ्नै गतिमा हिँड्छन्। हामी नचाहिने कुरा बोकेर हिँड्दैनौं, चाहिने कुरा बोकेर हिँड्छौं।”
उनले देशको विकासलाई रोक्न विभिन्न बहानामा अवरोध गर्नेहरूलाई इतिहासले याद गर्ने भन्दै सरकार आफ्नो लक्ष्यमा दृढ रहने बताए। “काम गर्नेहरूका लागि चुनौतीहरू सधैं आइरहन्छन्, तर साँचो उद्देश्यका साथ अघि बढ्नेहरूलाई कुनै शक्ति रोक्न सक्दैन,” उनले थपे।
कार्यक्रममा उपस्थित विभिन्न ट्रेड युनियन नेताहरूले पनि सरकारको कामप्रति समर्थन जनाएका थिए। कार्यक्रममा समृद्ध नेपाल निर्माणका लागि श्रमिक वर्गको भूमिकाबारे पनि छलफल गरिएको थियो।