सरकार अनेक सङ्कटको पोको बोकेर हिँडिराखेको छः झलनाथ खनाल

Jhalanath khanal

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले अनेक सङ्कटको पोको बोकेर हिँडिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार धनुषामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खनालले दुई तिहाइ बहुमतको सरकार भएपनि अध्यादेशमार्फत सरकार सङ्कटको पोको बोकेर हिँडिरहेको बताए । उनले सरकारको काम कारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै कानुनी प्रक्रियामा आएका राम्रा कुरालाई मात्रै समर्थन गर्ने धारणा व्यक्त गरे ।

खनालले भने, “झन्डै दुई तिहाइको सरकार, भारी बर्कत सरकार भएपनि अनेक सङ्कट पोका बोकेर हिँडेको छ । एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश हो ।”

उनले कुनैपनि कानुन सामान्य प्रक्रियाबाट नै निर्माण गर्नुपर्ने बताउँदै, अध्यादेशका माध्यमबाट गरिने कानुनी व्यवस्थालाई अस्वीकृत गर्ने स्पष्ट पारे । खनालका अनुसार, एकीकृत समाजवादीले वर्तमान सरकारले ल्याएका ६ वटै अध्यादेशमा कुनैपनि सहयोग गर्न सक्दैन ।

कुनैपनि दलसँग तत्काल एकीकरण हुँदैन

खनालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) अहिले कुनै पनि दलसँग एकीकरण गर्न नचाहने स्पष्ट पारे । यद्यपि, समान मुद्दा र सिद्धान्तका आधारमा अन्य दलहरूसँग सहकार्य हुनसक्ने उनले बताए ।

खनालले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै लोकतान्त्रिक प्रक्रियाको पालना हुनुपर्नेमा जोड दिए । साथै, उनले सरकारलाई स्वच्छ, पारदर्शी र जनउत्तरदायी बन्न आग्रह गरे ।

यसअघि पनि खनालले सरकारले संविधान र कानुनी प्रक्रियाको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाउँदै आएका थिए । उनका अनुसार, देशको समृद्धि र स्थिरताका लागि नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा पारदर्शिता अत्यावश्यक छ ।

समन्धित समाचार