संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

rastapati 1 scaled ramchandrapoudel

काठमाडौं, २० फाल्गुन – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। नेपाल चिकित्सक सङ्घद्वारा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको नै भावना र मर्मअनुसार भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु।” उहाँले स्वास्थ्य सेवाको पहुँचलाई नागरिकसम्म पुर्‍याउन राज्यले आवश्यक नीति तथा योजना निर्माण गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

स्वास्थ्य सेवा सुधारका लागि आवश्यक पहल

राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग, र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो। उहाँले देशका दुरदराजमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना-कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो।

उहाँले स्वास्थ्य सेवा सुधार गर्नका लागि सरकारले चिकित्सक, स्वास्थ्य संस्था तथा नागरिक समाजसँग समन्वय गरी काम गर्नुपर्ने र ग्रामीण भेगमा स्वास्थ्य सेवा सुलभ बनाउन विशेष कार्यक्रम लागू गर्नुपर्ने धारणा राख्नुभयो।

चिकित्सकलाई सेवा भावको दृष्टिकोण अपनाउन आह्वान

राष्ट्रपति पौडेलले आजको विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो। उहाँले नेपालमा हाल स्वास्थ्य शिक्षा अब्बल हुँदै गएको र दक्ष तथा विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको अनुभूति व्यक्त गर्नुभयो।

तर, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको र त्यसको परिणामस्वरूप चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले नेपालमै चिकित्सकलाई पर्याप्त अवसर प्रदान गर्न र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको भनाइ थियो। देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो।

वरिष्ठ चिकित्सकहरूलाई सम्मान

सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’ बाट डा. गौरीशङ्करलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबि कार्की, र डा. सरस्वती पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभयो। सम्मानित चिकित्सकहरूले नेपालमा स्वास्थ्य सेवा सुधारमा आफ्नो योगदान दिँदै आएका छन्। सम्मान कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष, सरकारका विभिन्न पदाधिकारी, तथा चिकित्सकहरूको व्यापक उपस्थिति रहेको थियो।

समन्धित समाचार