आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

heanth news

२० फाल्गुन,

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

नेपाल चिकित्सक सङ्घद्वारा आयोजित एक विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताउनुभयो। उहाँले चिकित्सकहरूले यो पेशालाई सेवा भावका दृष्टिकोणले हेर्नु पर्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले नेपाली जनताको सङ्घर्ष, त्याग, र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्ने हक सुनिश्चित गरेको स्पष्ट पार्नुभयो। उहाँले अझै पनि देशका दुर्गम क्षेत्रमा नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको अवस्थामा गम्भीर ध्यान दिनुपर्ने औंल्याउनुभयो।

उहाँले भन्नुभयो, “आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन म आह्वान गर्दछु।”

राष्ट्रपति पौडेलले नेपालमा स्वास्थ्य शिक्षा तथा दक्ष चिकित्सक उत्पादनको स्तर वृद्धि हुनु सुखद पक्ष भएको उल्लेख गर्नुभयो। उहाँले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताउनुभयो। साथै, देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा राष्ट्रपति पौडेलले लिजेन्ड ईन मेडिसिन बाट डा. गौरीशंकरलाल दास, डा. मृग्रेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबि कार्की, र डा. सरस्वती पाध्येयलाई सम्मान गर्नुभएको थियो।

राष्ट्रपति पौडेलको यो भनाइसँगै स्वास्थ्य क्षेत्रमा अझ सुधारका लागि सरकार, चिकित्सक, तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औंल्याइएको छ।

समन्धित समाचार