काठमाडौं, २० फागुन – नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले आफूहरुलाई पूर्वराजासँग मिल्न खोज्यो भन्नु आकाशतिर फर्किएर थुक्नुसरह रहेको टिप्पणी गरेका छन्।
आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा पोखरेलले गणतन्त्रका लागि बलिदान गरेको दल माओवादी केन्द्र राजसंस्थासँग मिल्न सक्दैन भन्ने स्पष्ट पारे। उनले भने, “नेपालमा गणतन्त्रको नारा लगाउने, गणतन्त्र ल्याउनका निम्ति युद्ध गर्ने, आन्दोलन गर्ने दल माओवादी केन्द्र हो। जसले गणतन्त्रका निम्ति बलिदान गर्यो, उसैले राजसंस्थाको लागि उचाल्यो भन्नु आकाशमा थुकेसरह हो।”
गणतन्त्र उल्टाउन सकिँदैन
पोखरेलका अनुसार गणतन्त्र जनताको संघर्षको उपज हो र राजसंस्थालाई पुनःस्थापित गर्ने कुनै सम्भावना छैन। उनले थपे, “नेपालमा अहिले राजसंस्था छैन। नेपाली जनताको संघर्षबाट फालिएको राजा फेरि आउने प्रयत्न गरिरहेका छन्, उनीहरूले अलि-अलि टाउको उठाउने कोशिस गरिराखेका छन्। तर, इतिहास उल्टिएर जाने सम्भावना छैन। इतिहास उल्टिँदैन। त्यसले उनीहरुकै हितको कुरा गर्न सक्दैन।”
एमालेको आरोपको खण्डन
सत्तारुढ दल नेकपा (एमाले) ले माओवादी केन्द्रमाथि पूर्वराजासँग साँठगाँठ गरेको आरोप लगाउँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विभिन्न सार्वजनिक कार्यक्रमहरूमा माओवादीमाथि यस्तो आरोप लगाउँदै आएका छन्। तर, पोखरेलले यस्ता आरोप आधारहीन रहेको जिकिर गरे। उनले गणतन्त्र स्थापनाका लागि माओवादीले गरेको संघर्ष र बलिदानलाई बिर्सन नहुने भन्दै पार्टीको अडान स्पष्ट पारे।
उनले निष्कर्षमा भने, “हामीले जनताको बलिदानबाट गणतन्त्र ल्याएका छौं। यो उपलब्धिलाई जोगाउनु हाम्रो कर्तव्य हो। कुनै पनि अवस्थामा गणतन्त्रलाई पछाडि फर्काउने प्रयास सफल हुन सक्दैन।”