२०८१ फाल्गुन २०, मंगलवार
काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको अभिव्यक्तिबारे छलफल भएको छ। हिजो (सोमबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टी पदाधिकारी बैठक बसेको थियो। सो बैठकमा पार्टीले पूर्वराजाको अभिव्यक्तिबारे सामान्य ढंगले छलफल गरेको माओवादी सचिव लिलामणि पोखरेलले बताए। तर, एजेण्डा नै बनाएर भने पूर्वराजाको अभिव्यक्तिमा छलफल नभएको उनको भनाइ छ।
माओवादी सचिव पोखरेलका अनुसार, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको बारेमा छलफल हुनु सामान्य कुरा हो। घटना परिस्थिति कहाँ के भइरहेको छ? कसले के गरिराखेको छ भन्ने कुरा सामान्य ढंगबाट हुने कुरा हुन्। त्यसबारेमा के गर्ने भन्ने एजेण्डा नै बनेर भने छलफल भएको छैन। सूचनाहरु के–के छन् भन्ने कुरालाई मात्रै लिएर छलफल भएको हो,’ उनले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भने।
तराइ–मधेश अभियानको समीक्षा
त्यस्तै, बैठकमा पार्टीको तराइ–मधेश अभियानको बारेमा पनि छलफल भएको उनले जानकारी दिए। पार्टी सचिव पोखरेलका अनुसार, ‘हिजोको बैठकमा हामीले हाम्रो अभियानको मूल्याङ्कन गर्यौं। अहिले अभियानको पहिलो चरणमा मेचीदेखि महाकालीसम्मको धनुषासम्मको अभियान सम्पन्न गरेका छौं। २२ गतेदेखि फेरि महोतरीबाट सुरुवात हुनेछ। त्यसमा के–कस्तो भयो? संगठन परिचालनदेखि लिएर जनताको प्रतिक्रिया, कार्यकर्ताको प्रतिक्रियामा छलफल भएको छ।’
पूर्वराजाको सन्देशबारे चर्चा
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक गरेको सन्देशमा देशको उन्नतिका लागि सबैलाई साथ दिन आह्वान गरिएको छ। पूर्वराजाले देशको समृद्धि र स्थिरताका लागि जनताको सहभागिता आवश्यक रहेको उल्लेख गरेका थिए।