राजेन्द्र महतोको प्रश्नः ‘केपी ओली र हिटलरमा के फरक भयो ?’

rajendra mahato 1

२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं, १५ फागुन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र जर्मनका क्रुर शासक हिटलरमा कुनै फरक नरहेको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री ओली एकल नश्लीय चिन्तनको आधारमा दिनप्रतिदिन क्रुर बन्दै गएको आरोप लगाएका छन्।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ‘नो केबलकार’ पक्षधरहरूमाथि राज्यले अति मात्रामा बल प्रयोग गरेको महतोको आरोप छ। उनले आन्दोलनकारीहरूलाई नियन्त्रण गर्न प्रहरीले १०/१० वटा अश्रुग्यास हान्न लगाएको दाबी गरे। यस घटनाले प्रधानमन्त्री ओली र हिटलरमा कुनै फरक नरहेको पुष्टि गर्ने उनको भनाइ छ।

नो केबलकार आन्दोलनमाथि कडा दमन

महतोका अनुसार उनी शान्तिपूर्ण पदयात्राका क्रममा पाथीभरामा पुगेका थिए। त्यही क्रममा आन्दोलनकारीहरूले काम रोक्न आग्रह गरेका थिए। उनले थप्दै भने, ‘त्यतिमात्रै होइन, सदरमुकाममा मसाल जुलुस निकाल्दाखेरि पनि सरकारले कठोर व्यवहार गर्यो। त्यहाँका स्थानीय लिम्बु समुदायले नेपाल बनेदेखि पहिलो पटक यस्तो नश्लीय शासनको अनुभूति गरेको बताए।’

महतोले यसअघि नै प्रधानमन्त्री ओलीलाई नश्लवादी प्रवृत्तिको शासकको रूपमा अनुभूति गरिसकेको बताए। उनले थपे, ‘अस्ती १० गते ताप्लेजुङको फुङ्लिङमा जब राज्यले आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन एउटा कोठामा बन्द गर्यो, त्यसपछि १०/१० वटा टीयर ग्यास छोडियो। यो त हिटलरको ग्यास चेम्बरजस्तै व्यवहार भयो। ओली सरकारले गरेको यो कार्य के हिटलरको शैलीसँग मिल्दोजुल्दो होइन? ओली र हिटलरमा फरक के भयो?’

महतोको कडा आलोचना

राजेन्द्र महतोले ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै उनले देशमा दमनकारी शासन शैली अपनाएको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्री ओलीको शासनशैली हिटलरको भन्दा फरक छैन। सरकार जनताका आवाज दबाउने, असहमति राख्नेलाई दमन गर्ने नीति अवलम्बन गर्दैछ। यस्तो शैली लोकतन्त्रका लागि खतरनाक संकेत हो।’

उनले लोकतन्त्रको रक्षा गर्न सबैलाई एकजुट हुन आह्वान गर्दै भने, ‘अब समय आइसक्यो, यो निरंकुश सरकारको अन्त्य गर्न सबै लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ। लोकतन्त्र र मानवअधिकारको रक्षा हामी सबैको दायित्व हो।’

सरकारको प्रतिक्रिया आउन बाँकी

महतोको गम्भीर आरोपमा सरकारको कुनै औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि, सरकारका निकट स्रोतहरूले आन्दोलनकारीहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले बाध्य भएर बल प्रयोग गरेको बताएका छन्। प्रधानमन्त्री ओलीको पक्षधरहरूले महतोको अभिव्यक्तिलाई राजनीतिक स्वार्थप्रेरित दाबी गरेका छन्।

यस विषयमा थप प्रतिक्रिया आउने सम्भावना छ।

समन्धित समाचार