काठमाडौं, १५ फाल्गुन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आगामी साताभित्रै दैनिक दुई सिफ्टमा शल्यक्रिया (अपरेसन) गर्ने व्यवस्था मिलाएको छ। हाल एक सिफ्टमा मात्र सञ्चालन भइरहेको अपरेसनलाई थप व्यवस्थित गर्दै दुई सिफ्टमा लैजाने तयारी पूरा गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिनुभएको छ।
डा. गौतमका अनुसार अस्पतालमा बिरामीको चाप उच्च रहेको र अपरेसन सूची लम्बिँदै गएकोले सेवा प्रभावकारी बनाउन दुई सिफ्टको अवधारणा अघि बढाइएको हो। “हामीले एक साताभित्र दुई सिफ्टमा अपरेसन गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो।
प्रयोगशालाको क्षमता वृद्धि
वीर अस्पतालले प्रयोगशालाको क्षमता वृद्धिका लागि आवश्यक उपकरणहरू थप्दै परीक्षण सेवाहरू सुधार गर्ने काम अघि बढाएको छ। अस्पतालमा प्रयोगशाला परीक्षणका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार निर्माण भइरहेको डा. गौतमले बताउनुभयो। “हामीले गैर-हेका परीक्षणको विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम थालेका छौँ,” उहाँले भन्नुभयो।
यससँगै अस्पतालको एमआरआई सेवा विस्तार गर्दै दैनिक २५ बाट ३२ सम्म पुर्याइएको छ। “अब पहिलेभन्दा महिनामा दुई सय बढी बिरामीहरूले एमआरआई सेवा पाउनेछन्,” डा. गौतमले जानकारी गराउनुभयो।
अस्पताल सफाइ अभियान
वीर अस्पताललाई बिरामी र कुरुवाहरूबाट सफाइसम्बन्धी गुनासा आउने गरेको छ। विशेष गरी शौचालय तथा अस्पतालको अन्य भागको सरसफाइलाई ध्यानमा राख्दै सुधारका लागि काम भइरहेको छ। “हामीले कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौँ,” डा. गौतमले भन्नुभयो, “यसको नतिजा चाँडै देखिनेछ।”
नयाँ व्यवस्थापन र सुधारको प्रक्रिया
डा. गौतम एक साता अघि मात्र वीर अस्पतालको निमित्त निर्देशकको रूपमा नियुक्त हुनुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ निर्देशक नियुक्त नहुँदासम्म डा. गौतमलाई जिम्मेवारी दिनुभएको थियो। यस अवधिमा वीर अस्पतालमा प्रभावकारी सुधारका लागि मन्त्री पौडेलले निर्देशन दिनुभएको थियो। उहाँको निर्देशनअनुसार अस्पताल व्यवस्थापन सुधार गर्नका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिँदैछन्।
वीर अस्पतालले यस परिवर्तनमार्फत बिरामीको सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउने लक्ष्य लिएको छ।