२०८१ फाल्गुन १४, बुधबार
काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आफूहरुको एजेण्डा रहेको बताएका छन्। आज (बुधबार) प्रेस सेन्टर नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलगायतका नाम लिँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले उनीहरुलाई ‘लोकतन्त्रको फूल’ को संज्ञा दिए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर आएपनि केही फरक नपर्ने धारणा राखे।
प्रचण्डले हर्क, बालेनलगायतका जनप्रतिनिधिहरूलाई आफूले आफ्नै मान्छे ठानेको बताए। उनले भने, “हर्क आएपनि फरक पर्दैन, बालेन आए पनि फरक पर्दैन। के बिग्रन्छ र? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु।”
उनले मुलुकमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताए। अहिलेको संसदीय व्यवस्थाले राजनीतिक अस्थिरता बढाएको भन्दै उनले स्थिरताको लागि नयाँ प्रणाली अवलम्बन गर्नुपर्ने बताए।
उनले थपे, “हामीले वर्षौंदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको वकालत गर्दै आएका छौं। अब समय आएको छ, अबको परिवर्तनले मुलुकलाई स्थायित्व दिनुपर्छ।”
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक विषयमा पनि बोलेका थिए। उनले गठबन्धन सरकारलाई मजबुत बनाउन सबै दलहरू गम्भीर रहेको बताए। साथै, देशको आर्थिक अवस्था सुधार गर्न र जनअपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।