आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै

710

भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखी भक्तजनको भीड लागेको छ । महाशिवरात्री आराध्यदेव भगवान महादेव अर्थात् शिवजीको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो ।

देशभरका शिवालयहरुमा हर्षोलासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदैछ। शिवरात्री भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको मानिन्छ।हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। यिनै चार रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रूपमा रहेको छ।

फागुन कृष्ण चतुर्दशीका दिन प्रत्येक वर्ष यो पर्व मनाइने गरिन्छ । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रूपमा पनि यस पर्वलाई लिइने गरिन्छ । व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिनका रुपमा शिवरात्रि पर्व मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्

।शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यसै कारण पनि देश विदेशबाट भेला भएका शिवजीका भक्तजनहरुको पशुपतिनाथ मन्दिरमा विहानै देखि घुइचो लागेको छ।

समन्धित समाचार