पाल्हीनन्दनमा प्रेम सम्बन्धको विषयलाई लिएर झडप, २१ जना घाइते, प्रहरीको गाडी समेत जलाइयो

nawalparasi ghanta

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानीय दुई पक्ष बीच भएको झडपका क्रममा २१ जना घाइते भएका छन्। प्रेम सम्बन्धको विषयलाई लिएर पाल्हीनन्दन ३, बेलासपुरमा भएको विवादको क्रममा झडप हुँदा १६ जना प्रहरीसहित ५ जना अन्य घाइते भएका छन्। घाइतेमध्ये ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको र उनको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएका छन्।

घटना पछि, आक्रोशित स्थानीयले झडप रोक्न पुगेको प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगजनी गरेका छन्। प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्ष बीचको विवादको क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा आगजनी गर्दै त्यहाँको संरचना ध्वस्त बनाएका छन्। यस आगजनीबाट केटी पक्षका आफन्तको घरमा पनि क्षति पुगेको छ।

केटा र केटी पक्षको घर सोही वडाको छट्की कुस्मा गाउँमा रहेको छ। केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया (मुसलमान) को घर भने बेलासपुरमा रहेको थियो। केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेको बताइएको छ। यस विवादको मुख्य कारण धोबी थर भएका केटासँग भएको प्रेम सम्बन्ध रहेको जानकारी प्राप्त भएको छ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो। अहिले, बाक्लो मात्रामा प्रहरी परिचालन गरी अवस्था सामान्य बनाइएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिएका छन्।

समन्धित समाचार