ओलीबाट देश उभोँ नलाग्ने मेटमणिको ठोकुवा, संकटबाट मुलुकलाई जोगाउन भन्दै मागे राजीनामा

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। उनले ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै देशलाई आर्थिक, सामाजिक, तथा प्रशासनिक संकटबाट जोगाउन ओलीले पद त्याग्नुपर्ने तर्क प्रस्तुत गरे।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले वर्तमान सरकारको कार्यसम्पादन निराशाजनक रहेको र प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुक उभोँ नलाग्ने ठोकुवा गरे। उनले नेपालको समग्र अवस्थालाई दृष्टिगत गर्दै ओली सरकारको कार्यशैलीमाथि कडा आलोचना गरे।

ओली नेतृत्वको सरकार असफल

सांसद चौधरीले नेपाल दोस्रो पटक ग्रे लिष्टमा परेको, भ्रष्टाचार सूचकांकमा मात्र एक स्थान सुधार भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको कार्यसम्पादन मूल्यांकनमा स्वयं प्रधानमन्त्री फेल भएको दाबी गरे। उनले यस अवस्थामा ओली सरकारको निरन्तरताले देशलाई थप संकटमा धकेल्ने भन्दै तत्काल राजीनामाको माग गरे।

उनले भने, “प्रधानमन्त्रीकै रुचिमा रहेको रेलदेखि पानीजहाज र ग्यासम्मका परियोजनाहरू संकटमा छन्। सुरु गरिएका परियोजनाहरूबाट पनि सन्तोषजनक परिणाम देखिँदैन। सबै विषयमा असफल भएको नेतृत्वले देशलाई कसरी उभोँ लगाउन सक्छ?”

देशलाई बचाउन ओलीले नेतृत्व छाड्नुपर्छ

सांसद चौधरीले ओली सरकारको असफल नीतिहरूको सूची प्रस्तुत गर्दै मुलुकको आर्थिक र राजनीतिक अवस्था झन् कमजोर हुँदै गएको उल्लेख गरे। उनले भने, “यदि मुलुकलाई बचाउनुछ भने असफल नेतृत्वले पद त्याग्नुपर्छ। अन्यथा, मुलुकलाई टाट पल्टिनबाट कसैले रोक्न सक्दैन।”

उनका अनुसार, ओली सरकारको असफलताका कारण आम नागरिक निराश छन्, आर्थिक गतिविधि सुस्ताएको छ, र भ्रष्टाचार मौलाएको छ। उनले ओली सरकारका कारण विकासका नाममा भएका परियोजनाहरू अलपत्र परेको तथा समग्रमा देश अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाए।

राजनीतिक वृत्तमा तरंग

सांसद चौधरीको तीव्र आलोचना तथा राजीनामाको मागपछि राजनीतिक वृत्तमा चर्चा शुरु भएको छ। ओली सरकारका समर्थकहरूले भने चौधरीको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको देखिन्छ। ओली निकट सांसदहरूले सरकारलाई असफल भन्नु गलत भएको र सरकारले धेरै सकारात्मक काम गरेको दाबी गरेका छन्।

तर, चौधरीले भने वर्तमान सरकारलाई कुनै पनि दृष्टिकोणले सफल भन्न नसकिने जिकिर गर्दै सरकार परिवर्तनको मागलाई बल दिएका छन्। उनको भनाइले ओली नेतृत्वविरुद्धको असन्तुष्टिलाई झन् गहिरो बनाएको देखिन्छ।

अब प्रधानमन्त्री ओलीले यस विषयमा के प्रतिक्रिया दिनेछन् भन्ने चासो बढेको छ।