हात लम्काउने र आँखा झिम्क्याउने कोशिस गरे ज्ञानेन्द्रलाई ठेगान लगाईदिने सांसद गैरेको चेतावनी

Thakur Gaire 1 breaking news of gyanendra shah

२०८१ फाल्गुन १३, मंगलवार

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्व राजा ज्ञानेन्द्र शाहमाथि शहीदप्रति अपमान गरेको आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले ७५औं प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजाबाट जारी वक्तव्यले नेपाली समाजलाई तरंगीत बनाएको टिप्पणी गरे।

‘पूर्व राजा ज्ञानेन्द्रबाट शहीदको अपमान भयो। प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे,’ गैरेले भने, ‘जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तनलगत्तै ०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि भन्नुभएको थियो— महाराज, हात नलम्काईबक्सियोस्। आँखा नझिम्काईबक्सियोस्। संविधानले दिएको आसनमा बस्नुहोस्। हामीलाई कुनै आपत्ति छैन। तर, संविधान उल्लंघनको प्रयास भयो भने राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्दैन।’

सांसद गैरेले तत्कालीन राजा वीरेन्द्रकै गल्ती ज्ञानेन्द्रले दोहोर्याएपछि राजतन्त्र ढलेको जिकिर गरे। उनले भने, ‘राजा ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने, नमान्ने, संविधानले दिएको अधिकार दुरुपयोग गर्ने काम गरे। निरंकुशता लाद्न खोजे। दलहरूलाई बन्देज लगाउने प्रयास गरे। त्यसकै परिणामस्वरूप निरंकुश राजतन्त्र ढल्यो।’

गैरेले थपे, ‘२४० वर्षदेखि राजाले गरिरहेको ब्रह्मलुटको अन्त्य भयो। आज जनताले बोल्न, लेख्न, चुन्न र चुनिन पाउने अधिकार सुरक्षित छ। आफ्ना जनप्रतिनिधिहरू चुन्ने अधिकार पाएका छन्। गणतन्त्र स्थापनापछि जनता स्वतन्त्र भएका छन्। अब फेरि कुनै पनि हालतमा राजतन्त्र फर्कने स्थिति छैन।’

सांसद गैरेको चेतावनीपछि प्रतिनिधि सभामा केहीबेर बहस चलेको थियो। उनले राजतन्त्रको पुनःस्थापना हुन सक्ने कुनै पनि कोसिसलाई जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन्।

समन्धित समाचार