१३ फागुन, काठमाडौं । एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन्।
मंगलबार संसदको शून्य समयमा उनले सरकारलाई विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिलाएर नै उनीहरूलाई पढाइ निरन्तरता दिनुपर्ने धारणा राखे। ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गराएर अहिले पढिरहेको विश्वविद्यालयमै पठाउनु उचित हुन्छ,’ उनले भने।
क्रेडिट आवर मिलाउन कठिनाइ हुन सक्ने सांसद पन्तको भनाइ
केआईआईटीबाट फर्किएका विद्यार्थीहरूको क्रेडिट आवर मिलाएर नेपालका काठमाडौं विश्वविद्यालय (केयू) र पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना लिने सम्भावना खोजी भइरहेको बेला सांसद पन्तले क्रेडिट आवर मिलाउन कठिन हुन सक्ने बताएका छन्।
‘केआईआईटीबाट फर्किएको विद्यार्थीलाई क्रेडिट आवर मिलाएर यहीँ पढाउन सकिन्छ भन्ने दिशातर्फ केयू र पूर्वाञ्चल विश्वविद्यालयले वर्कआउट गरेको समाचार आएको छ’, उनले भने, ‘तर, क्रेडिट आवर मिलाउन जटिलता हुन सक्छ।’
सांसद पन्तले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को स्पष्ट धारणा आउनुपर्ने माग गरे। ‘विश्वविद्यालय अनुदान आयोगले त्यो प्रक्रिया छ भन्नेबारे प्रष्ट पारेको छैन। फर्किन चाहँदैनन् भने क्रेडिट आवर लिएर आएमा पढ्न खोज्दा यहाँ पढ्न पाउँछन् कि पाउँदैनन्? यसमा सरकारको दृष्टिकोण के हो? सरकारले के गरिरहेको छ?’ उनले प्रश्न गरे।
केआईआईटीको घटनापछि विद्यार्थीको स्वदेश फिर्ती
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विद्यार्थीहरूबीच त्रास फैलिएको छ। विषम परिस्थिति बनेपछि अधिकांश नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन्।
विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै सरकारलाई स्पष्ट नीति ल्याउनुपर्ने माग सांसद पन्तले संसदमा उठाएका छन्।