रिंकु मृत्यु प्रकरणमा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता

news of nepal

फागुन, जनकपुरधाम

सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ। पीडित परिवारले सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा चारवटा मुद्दामा जाहेरी दिएको हो।

सम्बन्धित जाहेरी इलाका प्रहरी कार्यालय, लहानमा दर्ता गरिएको छ। कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी परेको छ। सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमा घटनालाई मिलाउन खोज्ने पाँच जना पञ्चमाथि जाहेरी परेको छ।

पीडित परिवारका अनुसार गाउँका केही स्थानीयले मिलेर घटनालाई शान्त पार्ने प्रयास गरेका थिए। विशेष गरी वडासदस्यसहितका स्थानीय पञ्चले २९ र ३० गते पञ्चायती बसेर घटना मिलाउने प्रयास गरेका थिए। जसमा पीडितलाई प्रहरीमा जान नदिने र पीडकलाई १ लाख ४० हजार जरिवाना तिर्ने निर्णय गरिएको थियो।

यस घटनामा थप अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, “पीडित पक्षबाट पूरक जाहेरी आजै दर्ता भएको छ। हामीले जाहेरीको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएका छौं। अहिलेसम्म कुनै पनि पक्राउ परेका छैनन् र फरार रहेका व्यक्तिहरूको खोजी कार्य जारी छ।”

स्रोतका अनुसार, रिंकु गत माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। यो घटनाको पूर्व सन्दर्भमा २७ गते राति रिंकुमाथि सामूहिक बलात्कार भएको थियो।

पीडित परिवारका अनुसार, उक्त घटनाले स्थानीय समुदायमा ठूलो हंगामा सिर्जना गरेको छ र यसले प्रहरी अनुसन्धान र कानूनी कारवाहीमा कडा ध्यानाकर्षण गरेको छ।

समन्धित समाचार