जाजरकोट, १ भदौ । तीन वर्षअघि गाडिएका विद्युतका पोलहरु लथालिङ्ग बनाई काम पूरा नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । भेरी नगरपालिका २ कोटखोलाबाट कुशे गाउँपालिका ५ पाँचकाटियासम्म गाडिएका विद्युतका पोलहरु लथालिङ्ग भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । भेरी नगरपालिका २ र कुशे गाउँपालिका पाँचकाटिया बजार व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटालाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र काम सुरु नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ठेक्का लिने तर काम नगर्ने परिपाटी मौलाइरहेको बेला यहाँका नागरिकहरु दिक्क भएर आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक थापाले बताए । ‘केही पोलहरु गाडिएको छ भने केही बिच बाटोमै छाड्दा ठाउँ, ठाउँमा गएको पहिरोले पोलहरु पुरिएको अवस्थामा छ,’ थापाले भने । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश विद्युत प्राधिकरणले गरेको ठेक्कामा त्रिपुरेश्वरी जय दुर्गे जेभी काठमाडौँ यो रुटमा लाइन विस्तारका लागि ठेक्का लिएको थियो ।
लिएको ठेक्का बिचमै छोडेर सम्पर्कमा नरहेको उक्त जेभिका इजिनियर नारायण लम्सालले विवादका कारण ढिला भएको बताए । उनले भने, ‘रुख काट्नुपर्ने र स्थानीयले विवाद गर्दा कामले गति लिन नसकेको हो, अब वर्षा सकिएपछि तुरुन्तै काम गर्नेछौं ।’
त्यस्तै उक्त जेभीले भेरी नगरपालिका १ कालेगाउँदेखि रिम्नासम्मको ठेक्का लिएर बिचमै छाडेको छ । कालेगाउँबाट बाहुनथाना जोड्ने प्रसारण लाइनसमेत अलपत्र बनाएको छ । मटेलादेखि भेर्रेसम्म जोड्ने कामको लाइनसमेत काफलचौरसम्म लिएर अलपत्र पारेको पाइएको छ ।
बर्षा सकिने वितिकै काम सुरु हुने र सो काम तीन महिनाभित्र सकिने इन्जिनियर लम्सालले बताए । तीन वर्षसम्म काम किन हुन सकेन भन्ने जिज्ञासामा लम्सालले भने, ‘सडक निर्माण तथा विवादले गर्दा काम हुन नसकेको हो । अहिले सबै कुरा सल्टिएको छ । अब काम हुन्छ ।’
त्यस्तै पाँचकाटियादेखि कुशेसम्म जोड्ने लाइनसमेत विस्तार हुन सकेको छैन । जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले लिएको ठेक्काको काम नहुँदा तीन वर्षदेखि सो काम समेत अवरुद्ध भएको छ । नलगाड नगरपालिकाबाट बारेकोट गाउँपालिका जोड्ने लाइनमा समेत शाहले काम नगर्दा बिचमै अलपत्र परेको छ। पहुँचको भरमा ठेक्का लिने र बिचमै छोड्ने तरिकाले गर्दा सर्वसाधारणले समयमै बिद्युत बाल्न नसकेका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले काम नगर्ने ठेकेदारलाई तुरुन्तै कारबाही हुने बताए । उनले भने, ‘ठेक्का लिने तर बिचैमा छोड्ने तरिका राम्रो भएन, मलाइ पनि ज्ञापन पत्र बुझाएको छ, काम नगर्नेलाइ कारबाही गरिनुपर्छ । मैले नि त्यहीँ सिफारिस गर्छु ।’ पश्चिमको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युतीकरण गर्न खोलिएको ठेक्काको कामसमेत निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले नगर्दा पश्चिममा विद्युतकरणको काम अवरुद्ध हुँदै आएको छ ।
उता विद्युत प्राधिकरण जाजरकोटका प्रमुख विशाल लामिछानेले निर्माणको जिम्मा लिएका ठेकेदारलाई जति बोलाए पनि सम्पर्कमा नआएको गुनासो गरे । उनले भने, ‘बोलाउदा आज आउँछु, भोलि आउँछु भन्दै दिन कटाइरहनुभएको छ । सबै नभएको काम प्रदेशको ठेक्कावालाहरुकै छ, तीन वर्ष कटिसकेको छ ।’
तोकिएको समयमा कम भइदिएको भए जिल्लाभरी अहिलेसम्म ७० प्रतिशत विद्युतिकरण भइसक्ने प्रजिअ लामिछानेले बताए । जाजरकोटमा अहिले ३३ केभी प्रशारण लाइनको विद्युत सूचारु अवस्थामा छ । कुदु स्टेशनसम्म ३३ केभी र अन्य ठाउँमा ११ केभी प्रसारण लाइन चालु अवस्थामा छ । मुख्य ठाउँकै काम नहुँदा बाँकी कामको ठेक्का खोल्न नसकेको उनको भनाइ छ ।