म्याग्दी, बेनी नगरपालिका-४ स्थित प्रसिद्ध प्राकृतिक उपचार स्थल सिंगा तातोपानी कुण्डको स्नानस्थलको क्षमता विस्तार गर्न लागिएको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजार नजिकै रहेको सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरी स्नानस्थलको क्षमता वृद्धि गर्ने कार्यलाई तीव्रता दिएको छ।
समितिका सचिव अमरबहादुर केसी (कुमार)का अनुसार, तातोपानी कुण्डमा स्नान गर्ने पर्यटक र बिरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएपछि स्नानस्थल विस्तारको आवश्यकता महसुस गरिएको हो। “म्याग्दी नदीको किनारमा रहेको तातोपानी मुहानबाट पानी पम्प गरी नयाँ पोखरीमा संकलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। कुण्डमा स्नान गर्न आउने व्यक्तिहरूले तिर्ने प्रवेश शूल्कबाट निर्माण सामग्री खरिद, मजदुरको ज्याला व्यवस्थापन तथा श्रमदान जुटाएर नयाँ स्नानस्थल निर्माण गर्न लागिएको हो,” सचिव केसीले जानकारी दिनुभयो।
नयाँ पोखरीको विशेषता
नयाँ पोखरी १५-१५ फिट लम्बाइ-चौडाइ तथा २.५ फिट उचाइको हुनेछ। यस पोखरीमा एकैपटक ८० जनासम्म स्नान गर्न सक्ने क्षमता रहेको छ। हालको तातोपानी स्नानस्थल भन्दा केही माथि रहेको म्याग्दी नदीको किनारमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने प्राकृतिक मुहान छ। उक्त मुहानबाट पम्पिङ प्रविधिको प्रयोग गरी नयाँ पोखरीमा पानी संकलन गरिनेछ।
स्नानस्थल नजिकै सार्वजनिक शौचालय पनि निर्माण गर्ने योजना रहेको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार, निर्माण कार्य सम्पन्न भएपछि यसै महिनादेखि नयाँ स्नानस्थल सञ्चालनमा ल्याइनेछ। “तातोपानी कुण्डमा स्नान गर्दा छाला रोग, ग्यास्ट्रिक, वाथ, तथा चोटपटकसम्बन्धी स्वास्थ्य समस्याहरूमा राहत मिल्ने भएकाले बिरामी तथा पर्यटकहरूको आकर्षण बढ्दो छ,” उहाँले बताउनुभयो।
पर्यटक आगमनको तथ्याङ्क
आर्थिक वर्ष २०८०/८१ मा नेपालका ५९ जिल्ला तथा भारत, रसिया, फ्रान्स, जापान लगायतका मुलुकबाट झण्डै ४४,००० जना पर्यटकले सिंगा तातोपानी कुण्डमा स्नान गरेको समितिको तथ्याङ्कमा उल्लेख छ।
स्नान गर्न चाहनेहरूका लागि फरक-फरक शुल्क निर्धारण गरिएको छ। सात देखि १० दिनसम्म स्नान गर्नेहरूका लागि प्रति व्यक्ति रु. ३५० शुल्क तोकिएको छ भने छोटो अवधिका स्नानकर्ताहरूका लागि प्रति पटक रु. १०० निर्धारण गरिएको छ।
हाल कुण्डमा बिरामी र पर्यटकहरूको सुविधाका लागि दुईवटा फरक-फरक पोखरी सञ्चालनमा छन्। जाडो मौसम विशेष गरी मंसिरदेखि चैत महिनासम्म यहाँ स्नान गर्नेहरूको घुइँचो लाग्ने गर्छ। हाल सञ्चालनमा रहेको ठूला पोखरीमा एक पटकमा ३०० जनासम्म स्नान गर्न सक्ने क्षमता रहेको छ। अत्यधिक चापलाई व्यवस्थित गर्न दैनिक १,००० जनासम्मको स्नान व्यवस्थापनका लागि तीन समूह बनाएर दुई-दुई घण्टाका फरक-फरक सेसनमा स्नान गराइने व्यवस्था मिलाइएको छ।
प्रवेश शूल्कको व्यवस्थापन
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीका अनुसार, कुण्डमा संकलित प्रवेश शूल्कबाट १३ प्रतिशत सरकारलाई कर तथा २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाइन्छ। बाँकी रकम तातोपानी कुण्डका कर्मचारीहरूको तलब-भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कार्य तथा स्थानीय सरस्वती माविका पाँच जना निजी स्रोतका शिक्षकहरूको तलब-भत्तामा खर्च गरिन्छ।
तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रूपमा परिचित रहेकाले यहाँको पर्यटन प्रवर्द्धन गर्न थप संरचना निर्माण तथा सेवाहरू विस्तार गर्दै जाने योजनामा व्यवस्थापन समिति लागेको छ।