पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

news

काठमाडौं, फाल्गुन १४ – प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम, तथा बजेटलाई स्वीकृत गरेको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकले प्रतिष्ठानको नवौँ सभाबाट पारित बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति प्रदान गरेको छ। साथै, कार्यकारी परिषद्को सिफारिसअनुसार सभाको सदस्यमा प्रा. डा. ब्रम्हदेव झालाई मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ।

तलव वृद्धि सम्बन्धी प्रस्तावमा थप छलफल

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको तलब भत्तामा आन्तरिक स्रोतबाट पाँच प्रतिशत वृद्धिको प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत गरियो। तथापि, बैठकले यस विषयमा थप अध्ययन तथा छलफल आवश्यक रहेको ठहर गर्दै तत्काल निर्णय नलिइ थप प्रस्ताव तयार गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री ओलीको निर्देशन

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी विधि र प्रक्रिया अनुरूप निर्णय लिनुपर्नेमा जोड दिनुभयो। उहाँले सिनेट बैठकलाई समयमा आयोजना गरी वार्षिक बजेट तथा कार्यक्रम पारित गर्ने कार्यलाई सुनिश्चित गर्न निर्देशन दिनुभयो। दीर्घकालीन तथा आर्थिकरूपमा गम्भीर प्रभाव पार्ने निर्णयहरू स्वीकृत गर्न सकिने अवस्था नरहेको भन्दै उहाँले यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

बैठकमा प्रतिष्ठानका पदाधिकारी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका उच्च अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

समन्धित समाचार