राष्ट्रपति पौडेलको धारणा : जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा

ram chandra poudel 2 scaled 1 2048x1362 1

धरान – राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिबाट धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रवार सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो।

“जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रूपमा बुझ्न सके समाजमा सहिष्णुता बढाउन मद्धत पुग्छ भन्ने म ठान्दछु,” उहाँले भन्नुभयो।

राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रहरूले सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताउनुभयो। उहाँले वेद व्यासद्वारा रचित अठार पुराणको निष्कर्ष उद्धृत गर्दै भन्नुभयो, “परोपकार पुण्याय, पापाय परपीडनम”, अर्थात् परोपकार नै पुण्य हो र अरूलाई पीडा दिनु नै पाप हो।

उहाँले नेपालको पूर्वीय ज्ञान परम्पराको महत्त्वलाई उजागर गर्दै भन्नुभयो कि यस ज्ञान, परम्परा, र सभ्यताभित्र अनेक संस्कृति तथा सम्प्रदायहरूको एकता र ऐक्यबद्धता झल्किन्छ। यस ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता, र बन्धुत्वको भावना जागृत गर्न सक्नुपर्छ भन्ने उहाँको धारणा थियो।

“यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव, र सहअस्तित्वको पवित्र विचार सिर्जना गर्न आवश्यक छ। आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान, र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौतारिरहेको यही कारण हो,” राष्ट्रपति पौडेलले बताउनुभयो।

राष्ट्रपति पौडेलले विश्वभर चरम भौतिक विकासको चाहना र होडबाजी बढेसँगै समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, तथा सहयोगको भावना खस्कँदै गएको उल्लेख गर्नुभयो। उहाँले वर्तमान अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चालेको आध्यात्मिक जागरण तथा मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव, र शान्ति स्थापना गर्दै सभ्य तथा सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

साथै, उहाँले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको तथा यसको विराट स्वरूपका कारण विभिन्न संप्रदायहरूको सृजना स्वाभाविक रूपमा भइरहेको उल्लेख गर्नुभयो। उहाँले उक्त धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले प्रेरित एउटा पवित्र मन्दिरको स्वरूपको रूपमा आफूले अनुभूति गरेको बताउनुभयो।

सो कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की तथा जगत् गुरु श्रीकृष्णमणि महाराज लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहका अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती समेत गर्नुभएको थियो।

समन्धित समाचार