वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

dhito patra news

काठमाडौं, फाल्गुन ०५: नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गर्दै वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ।

बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ।

सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको पहिचान गर्नुपर्ने

मार्गदर्शन अनुसार, नेपाल सरकारको गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घले प्रतिबन्ध लगाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठन धितोपत्र कारोबारमा संलग्न छ वा छैन भन्ने यकिन गर्नुपर्ने व्यवस्था छ। साथै, सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीले आफ्नो कारोबार तथ्याङ्कमा भए वा नभएको नियमित रूपमा एकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्नेछ।

अवैध सम्पत्ति रोक्का गर्नुपर्ने

मार्गदर्शनमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन तथा उनीहरूसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष धितोपत्र बजार सहभागीसँग रहेको भएमा उक्त सम्पत्ति वा कोष तत्काल रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ। यसले अवैध वित्तीय गतिविधि नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

आतङ्कवादी वित्तीय गतिविधिको रोकथाम

धितोपत्र बजार सहभागीले आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरूको पालना गर्नुपर्नेछ। साथै, यस्तो गतिविधिमा संलग्न शङ्कास्पद व्यक्ति वा समूहको वित्तीय गतिविधि बारे वित्तीय जानकारी इकाईमा अनिवार्य रूपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा उल्लेख छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको यो मार्गदर्शनले धितोपत्र बजारमा पारदर्शिता बढाउने र अवैध वित्तीय कारोबार तथा आतङ्कवादी वित्त पोषण रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

समन्धित समाचार