भक्तपुर, फाल्गुन ९: भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। विपरीत दिशाबाट आएका तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल इवामुरा अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको ज्यान गएको हो।
यसैगरी, सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङ गम्भीर घाइते भएका छन्। उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।
दुर्घटनामा संलग्न अर्का घाइते रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने उपचारपछि घर फर्किसकेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। ट्राफिक प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान गरी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने बताएको छ।
यातायात सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने तथा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता अपनाउनुपर्ने सम्बन्धित निकायले आग्रह गरेका छन्।