ज्ञानेन्द्रको विज्ञप्तिबारे रवीन्द्र मिश्रको १२ बुँदे टिप्पणी- राजाबाट १० गल्ती हुँदा दलहरुबाट हजार गल्ती भएका छन्

rabindra mishra and gyanendra 1536x1349 1

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा र राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएको टिप्पणी गरेका छन् । ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यले राजनीतिक तरंग ल्याईरहँदा मिश्रले १२ बुँदे टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशबारे सामाजिक सञ्जालमा धारणा राख्दै मिश्रले ‘राजाको सन्देशमा ‍सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको’ उल्लेख गरेका छन्।

पूर्व राजाको वक्तव्यप्रति यस्तो छ मिश्रको १२ बुँदे टिप्पणी

१. राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन। राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पुर्याएर देशलाई नै अस्तित्वको संकट उन्मूख बनाइदिए ।

२. तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाऊँमा आउन अत्यावश्यक छ। राजाको सन्देशमा ‍सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारी मा जाने मनसाय भएको स्पष्ट भाव छ।

३. राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने Systemic Overhauling पद्दतिपूर्ण र शान्तिपूर्ण हुने छैन। त्यो कसैका लागि पनि हितकर हुँदैन।

४. ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी छ। राजाले त्यसै बोलेका छैनन्। सबै मिल्नुको विकल्प छैन।

५. छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुन: दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ। विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन।

६. जहाँसम्म देशभित्रका राज संस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ-आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ।

७. मैले पहिले पनि बोलेको र लेखेको हुँ: झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने, र, अपवादलाई छोडेर, हामी — झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहंले पूर्ण — राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ। अब त्यो कार्य तत्काल रोकौँ। नत्र राजसंस्थावादीहरूले, अरू त कुरै छोडौँ, राजसंस्था पुनर्स्थापनाको श्रेय पनि पाउने छैनन्।

८. ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना/ठूला नेताहरू छन्। अब ती नेताहरूले कुरा नचपाइ बोल्न पर्छ।

९. त्यस्तै अनौपचारिक भेटघाट/चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौलि-तौलि बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन।

१०. अनि राजालाई झापा गएर भेटेर “राजसंस्था पुनर्स्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?” भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नी! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु।

११. जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसैगरी आ-आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो।

१२. छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र systemic overhauling को बाटोमा देश गएको देख्न पाइयोस्! प्रजातन्त्र दिवसको हार्दिक शुभकामना

समन्धित समाचार