ज्ञानेन्द्रको विज्ञप्तिले हौसियो राप्रपा, लोहनी र राणा भन्छन्- पूर्व राजाले नेपालीको साथ खोजिबक्सियो, हाम्रो पूर्ण समर्थन छ

gyanendra dhawal prakashchandra scaled 1

२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं – ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यले राजनीतिमा नयाँ तरंग उत्पन्न गरेको छ। मंगलबार, पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै देशको इतिहास मेटिँदै गएको र नेपालको अस्तित्व नासिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

पूर्व राजा शाहले आफ्नो वक्तव्यमा भने, “नेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ। जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ। हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन्। हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन्। नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन। श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ। यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन्।”

पूर्व राजा शाहले देशलाई राम्रो बनाउन आफूहरूले सबै कुरा त्याग गरेको र यदि आवश्यक परेमा अझै त्याग गर्न तयार रहेको बताएका छन्। उनले भने, “देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं। अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।”

पूर्व राजाको विज्ञप्ति पछि, यसका पक्ष र विपक्षमा प्रतिक्रिया व्यक्त भइरहेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य स्थापनाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु पूर्व राजाको वक्तव्यको पक्षमा देखिएका छन्। राप्रपा महामन्त्री धवलशमसेर जबरा र राप्रपा निर्देशक समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले पूर्व राजाको विज्ञप्तिको खुलेरै प्रशंसा गरेका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका लोहनीले ज्ञानेन्द्रको विज्ञप्तिप्रति समर्थन जनाउँदै, “फाल्गुन ७ को दिन राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट हाम्रो देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्सन र अवधारणाले जग हालेको दिन हो। नेपालीहरूको लागि यो ऐतिहासिक महत्व र उपलब्धि को दिन हो। यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहासिक सम्बोधन प्रसंसनीय र सबै पक्षबाट मननीय छ। यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्यसम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ।”

त्यसैगरी, राप्रपा महामन्त्री राणाले पनि पूर्व राजाको वक्तव्यमा समर्थन जनाएका छन्। उनले भने, “प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ।”

राणा थप्छन्, “राजाको पछिल्लो आव्हानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ।”

यस घटनाले नेपालका राजनीतिक मञ्चमा नयाँ बहस र विचार विमर्शलाई जन्म दिएको छ।

समन्धित समाचार