काठमाडौं, फागुन ७ – नेपालमा प्रजातन्त्रको स्थापना भएको दिन फागुन ७ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो शुभकामना सन्देश जारी गरेका छन्। उनले देशको वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रको समृद्धि, एकता, र नेपाली जनताको हितका लागि सबै पक्षहरूलाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
नेपालमा प्रजातन्त्रको मिर्मिरे विहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइबक्सने हाम्रा जिज्यु बुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं । जनता र रामा मिलेर प्रजातन्त्रलाई सवल बनाउन लागिपरेको इतिहास साक्षी छ । त्यसैले, प्रजातन्त्रका लागि जीवनदान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि कृयाशील रहने सबै पात्रहरुप्रति पनि हामी उच्च सम्मानभाव राख्दछौं ।
‘प्रजातन्त्र’ आजको युगको उत्तम शासन पद्धती हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने– सर्वमान्य आदर्शपनि हुनुपथ्र्यो । यसबाट हामी कोही विमुख छैनौं । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हकअधिकारको संरक्षण गर्दै, प्रतिष्ठा तथा प्रगति अघि बडाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । यसमा कहिँ कसैको शंका हुन सक्दैन् ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वाद विवाद, द्वन्द्व वा विरोध–प्रतिरोधको अर्थले मात्र बुझ्नुहुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा पनि हेर्नुपर्दछ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होईन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ, सबैको अस्तित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होईन, अन्तै पोखिरहेको छ । जन्मदैं नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछन् । हुँदाहुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् । नेपालका पद्धति, नीति र गतिविधि ठीक छैन्, यहाँ बसेर केही हुँदैन । श्रम, सीप चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यसप्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन् ।
प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बडाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दैफुल्दै जाँदा हामी सबैको भाग्य र भविष्य चम्कन्छ भन्ने भावना जागृत गराउने हुनुपर्दछ, तर तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद् कुरा हो ।
हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुदृ फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआवोस भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामील्े उदारता राख्दै आयौं । त्यतिमात्र होईन हामीले जनताको भलो होस भनेर आफ्नो ओहदा र सुखसुविधालाई पनि त्याग गरेका छौं । त्यागले कसैको कद सानो हुने होईन, र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आसयपनि त्यही नै हो । हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उभों लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं । विगतका कमिकमजोरी तथा आफ्नो प्रकृति, संस्कृतिविरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिलेपनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के को त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउन हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिको निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
(२०८१ साल फागुन ७ गतेको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामनाको पूर्णपाठ)
प्रजातन्त्रको महत्व र सही परिभाषा पूर्वराजाले प्रजातन्त्रलाई उत्तम शासन प्रणालीको रूपमा उल्लेख गर्दै यसले आम जनताको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिए। उनले भने, “प्रजातन्त्र वाद–विवाद, द्वन्द्व, वा विरोधको मात्र आधारमा चल्ने होइन, यसले जनहितको प्रवर्द्धन गर्नुपर्छ।” उनले वास्तविक प्रजातान्त्रिक आचरण भनेको सबै नागरिकको पहिचान, अस्तित्व र अवसर सुरक्षित गर्ने प्रणाली भएको बताए।
देशको वर्तमान अवस्था प्रति चिन्ता पूर्वराजाले आफ्नो सन्देशमा नेपालभित्रको हालको अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरे। उनले भने, “देशको इतिहास मेटिँदै गएको छ, नेपालको अस्तित्व नासिँदै गएको छ।” उनले देशका युवाहरूको पलायन, कलकारखानाको पतन, व्यापार व्यवसायको निरन्तर अवनति, र शिक्षाको गिरावटलाई गम्भीर चुनौतीका रूपमा लिएका छन्। “आज नेपालीको शीरमा जन्मनेबित्तिकै लाखौंको ऋणभारको बोझ छ,” भन्दै उनले नेपालको आर्थिक व्यवस्थामा सुधार आवश्यक रहेको संकेत गरे।
प्रजातन्त्रले आशा जगाउनुपर्ने पूर्वराजाले प्रजातन्त्रको मूल उद्देश्य जनतालाई सुखी, सुरक्षित, र समृद्ध बनाउनु हो भन्दै विगत तीन दशकमा प्रजातन्त्रको नाममा जनताले खोजेको परिवर्तन नआएको बताए। उनले भने, “प्रजातन्त्रले जनतामा आशा जगाउनुपर्छ, यसले देशको उन्नति र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्छ।”
राष्ट्रिय एकताको आवश्यकता पूर्वराजाले आफ्नो सन्देशमा राष्ट्रिय एकताको महत्वमा विशेष जोड दिए। उनले भने, “नेपाल देशभक्त पुर्खाहरूले निर्माण गरेको राष्ट्र हो, यसको रक्षा हाम्रो कर्तव्य हो।” उनले नेपालमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै विगतका त्रुटिहरू सच्याएर अघि बढ्ने चेतना आवश्यक रहेको बताए। उनले राष्ट्रिय समस्याहरू समाधान गर्न आफ्नो तर्फबाट सबै प्रकारको त्याग गर्न तयार रहेको समेत उल्लेख गरे।
राष्ट्रप्रति समर्पणको प्रतिबद्धता पूर्वराजाले राष्ट्रको हितका लागि आफ्नो समर्पण र निष्ठा निरन्तर रहने प्रतिबद्धता जनाए। उनले भने, “हामीले विगतमा पनि राष्ट्रिय समस्याहरू समाधान गर्न त्याग गरेका थियौं, भविष्यमा पनि आवश्यक परे त्याग गर्न तयार छौं।” उनले सम्पूर्ण नेपालीहरूलाई राष्ट्र जोगाउने र राष्ट्रिय एकता कायम राख्न आह्वान गरे।
शुभकामना सन्देशको अन्त्यमा उनले भगवान पशुपतिनाथसँग नेपालीहरूको कल्याणको कामना गर्दै “जय नेपाल” भन्दै आफ्नो सन्देश समाप्त गरे।
(२०८१ साल फागुन ७ गतेको दिन पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी ७५औं प्रजातन्त्र दिवसको शुभकामना सन्देश)