काठमाडौं, फाल्गुन ७ – आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखहरूसँग छलफल गर्नुभएको छ।
ओमानस्थित नेपाली राजदूतावासको आयोजनामा ‘भर्चुअल’ रूपमा सम्पन्न उक्त बैठकमा ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर, श्रम सहचारीलगायत नियोगका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता थियो।
बैठकमा महिला घरेलु कामदारलगायत नेपाली श्रमिकको उद्धार, सहायता, स्वदेश फिर्ती, बिमा तथा क्षतिपूर्ति, आश्रयस्थल व्यवस्थापन, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपायबारे छलफल भएको थियो। साथै, प्रभावकारी सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपायहरूबारे व्यापक विचारविमर्श गरिएको थियो।
आर्थिक कूटनीति र सांस्कृतिक सम्बन्ध विस्तारमा छलफल
बैठकमा आर्थिक, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिका विविध आयाम, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन, संस्कृति, भाषा, वेशभूषा तथा रोजगार प्रवर्द्धनका विषयमा पनि छलफल गरिएको थियो। नेपाली समुदाय तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्य, नेपाली नियोगमा उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपयोगलगायत विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गरी उठान भएका विषयउपर परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबाट उपयुक्त निर्णयका लागि सिफारिस गर्ने निर्णय बैठकमा गरिएको नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने सरकारको नीति
परराष्ट्रमन्त्री देउवाले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। साथै, दीर्घकालीन रूपमा समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा भरपर्दो बनाउने सरकारको नीति रहेको बताउनुभयो।
परराष्ट्रमन्त्री देउवाले ‘डिजिटल’ सुशासन कायम गर्ने सरकारको नीति अनुरूप नियोगका सेवा प्रवाहलाई मितव्ययी, सरल, पारदर्शी, प्रभावकारी तथा सूचना प्रविधिमैत्री बनाउन निर्देशन दिनुभएको थियो।
नेपालको समग्र विकासमा आर्थिक कूटनीतिको भूमिका
नेपालको समग्र विकासका लागि आर्थिक कूटनीति प्रवर्द्धनमा नियोगहरूले विशेष सक्रियता देखाउनुपर्नेमा मन्त्री देउवाले जोड दिनुभयो। साथै, सम्बन्धित मन्त्रालयले आवश्यक सहजीकरण गर्न अपरिहार्य रहेको र यस सम्बन्धमा कुनै व्यवधान देखिएमा परराष्ट्र मन्त्रालय तत्पर रहेको बताउनुभयो।
नेपाली समुदायसँग अन्तरक्रिया
बैठकपश्चात् परराष्ट्रमन्त्री देउवाले ओमानस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरू, राजदूतावासका स्वयंसेवक तथा नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया गर्नुभयो। अन्तरक्रियाका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले सबैलाई इमान्दारीपूर्वक कार्य सम्पादन गरी नेपालको छवि अभिवृद्धि गर्न आह्वान गर्नुभयो।
परराष्ट्रमन्त्री देउवाले सरकारले नेपाली श्रमिकहरूको हकहित, सेवासुविधाको सुरक्षा तथा प्रवर्द्धनका लागि आवश्यक नीतिगत, संस्थागत तथा कानुनी संरचना निर्माण तथा नियमित परिमार्जन गरिरहेको जानकारी गराउनुभयो।
सम्मानमा रात्रिभोज, भ्रमण समापन
परराष्ट्रमन्त्री देउवा तथा उहाँको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलको सम्मानमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले विशेष रात्रिभोजको आयोजना गर्नुभएको थियो। परराष्ट्रमन्त्री तथा उहाँको प्रतिनिधिमण्डल ओमानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।