प्रधानमन्त्रीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

25 1

काठमाडौं, ७ फाल्गुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै, नेपाली जनताले गरेको बलिदानपूर्ण संघर्षको स्मरण गर्दै लोकतन्त्रप्रेमी नागरिकहरूलाई बधाई तथा शुभकामना दिनुभएको हो।

प्रधानमन्त्री ओलीले लेख्नुभएको सन्देशमा प्रजातन्त्र दिवस नेपालीहरूको गौरवपूर्ण एवं ऐतिहासिक दिन भएको उल्लेख गर्दै भन्नुभएको छ, “फागुन ७ गते हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन हो, यो बलिदानपूर्ण सङ्घर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो।” उहाँले नेपालका वीर सहिदहरूलाई सम्झिंदै, “जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुभएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान !!” भन्ने भावना व्यक्त गर्नुभएको छ।

यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय झण्डा तथा नेपालको नक्सासहितको पोस्ट साझा गर्दै, लोकतन्त्र स्थापनाका लागि भएका संघर्षहरू नेपाली जनताले कहिल्यै नबिर्सिनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, लोकतान्त्रिक मूल्यमान्यता तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति गर्दै लोकतन्त्रलाई थप संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपालमा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ। २००७ साल फागुन ७ गते नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो। त्यसयता नेपालले विभिन्न राजनीतिक परिवर्तनहरू सामना गर्दै हाल लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको छ।

सरकारले यस वर्ष पनि प्रजातन्त्र दिवस विशेष कार्यक्रमसहित मनाउने तयारी गरेको छ। नेपाल सरकारद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू, उच्च पदस्थ सरकारी अधिकारीहरू, सुरक्षाकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रजातन्त्र दिवसका अवसरमा देशभरि विशेष कार्यक्रमहरू आयोजना हुँदैछन्। विभिन्न विद्यालय, संघसंस्था, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरूले पनि यस दिवसलाई उत्साहका साथ मनाउने तयारी गरेका छन्।

नेपालका वीर सहिदहरूको योगदान कहिल्यै बिर्सन सकिन्न। उनीहरूको बलिदानकै कारण आज नेपाली जनता स्वतन्त्र एवं सार्वभौम छन्। प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा जनतालाई प्रजातान्त्रिक अधिकारहरूको संरक्षण गर्दै देशलाई समृद्ध बनाउने दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ।

समन्धित समाचार