काठमाडौँ, ७ फाल्गुन – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाहरुलाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रको उज्यालोकै कारण हामीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवा प्रदान गर्न सफल भएका छौँ। यसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउँदैछ।” उहाँले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउनुभयो।
नेपालको स्तरोन्नति र आर्थिक सुधार
प्रधानमन्त्री ओलीले सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि आर्थिक सूचकहरू सुधार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले लोकतन्त्रकै कारण जनताको जीवनमा प्रगति सम्भव भएको उल्लेख गर्दै जनआकाङ्क्षा र राज्यको संस्थागत क्षमता बीच समन्वय गर्दै देशलाई अगाडि बढाइरहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीका अनुसार “युवाहरु देशको भविष्य हुन्, उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर प्रदान गरिँदैछ। स्टार्टअप संस्कृति प्रवर्द्धन गर्दै उद्यमशीलतालाई प्रोत्साहित गर्ने नीति अपनाइएको छ।”
परिपूर्ण लोकतन्त्रको अवधारणा
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई मात्र होइन, परिपूर्ण लोकतन्त्रलाई राष्ट्रिय लक्ष्यका रूपमा अघि बढाइने बताउनुभयो। “लोकतन्त्रले संगठन र अभिव्यक्तिको स्वतन्त्रताको मात्र वकालत गरेको छ भने परिपूर्ण लोकतन्त्रले समान अधिकार, अवसर, सामाजिक न्याय, सुरक्षा र सम्मान सुनिश्चित गर्दछ।” उहाँका अनुसार सरकार नागरिकका मानवीय तथा जैविक आवश्यकताहरू पूरा गर्ने दिशामा इमान्दारीपूर्वक लागिपरेको छ।
इतिहासप्रति गौरव र वर्तमानको जिम्मेवारी
प्रधानमन्त्री ओलीले फागुन ७ लाई इतिहासप्रति गौरव गर्ने, वर्तमानको जिम्मेवारी बहन गर्ने र भविष्यप्रति उत्तरदायी हुने दिनका रूपमा स्मरण गर्नुपर्ने बताउनुभयो। “आजको पुस्ताका लागि हिजोको शासनको क्रूरतामय इतिहास अनुभव नभएर केवल कथा मात्र भएको छ। तर, लोकतन्त्रले नागरिकका लागि विकासका आधारहरू निर्माण गरेको छ।”
उहाँले जहानियाँ शासनले आफ्ना सन्तानका लागि दरबारहरू बनाएको तर लोकतन्त्रले जनता लागि सडक, पुल, कुलो, बिजुली, व्यापारिक केन्द्र, अस्पताल र विद्यालय बनाएको स्मरण गराउँदै लोकतन्त्रका उपलब्धिहरूलाई विवेकको तराजुमा जोख्न आग्रह गर्नुभयो।
शहिदहरू प्रति श्रद्धाञ्जली
प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण शहिदहरूलाई श्रद्धासुमन अर्पण गर्नुभयो। “आजको दिन प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षहरू स्मरण गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्त गर्न संकल्प गर्ने दिन हो।”
समारोहमा प्रधानमन्त्रीसँगै विभिन्न मन्त्री, उच्चपदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक समुदायका प्रतिनिधिहरू तथा नागरिक समाजका व्यक्तित्वहरू उपस्थित थिए। समारोहमा राष्ट्रिय झण्डा फहराइने, सैनिक परेड, सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रमहरू सम्पन्न गरियो।
प्रधानमन्त्री ओलीको सम्बोधनसँगै राष्ट्रका लागि नयाँ सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको छ।