नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी कलिङ्गा इन्स्टिच्युटमा पुगे

NEPALI PRAHARI

काठमाडौँ, ६ फाल्गुन – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको जानकारी दिनुभएको छ।

परराष्ट्रमन्त्रीका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान केआईआईटी विश्वविद्यालयमा पुगेका छन्। ती प्रहरी अधिकारीहरूसँग परराष्ट्रमन्त्रीले फोनमा कुराकानी गरी घटनाको आवश्यक अनुसन्धान गर्न भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। साथै, नेपाली विद्यार्थीलाई आवश्यक सहयोग प्रदान गर्न र होस्टलमा सुरक्षित रूपमा रहन विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको छ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएपछि विश्वविद्यालयमा सुरक्षा र नेपाली विद्यार्थीहरूको अवस्थाबारे चासो बढेको छ। घटनाक्रमको निरन्तर फलोअप भइरहेको बताउँदै परराष्ट्रमन्त्रीले नेपाली विद्यार्थीको सुरक्षाका लागि आवश्यक पहल भइरहेकै जानकारी गराउनुभयो।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत जनाए अनुसार नेपाली विद्यार्थीको अवस्था बुझ्नका लागि नेपाली राजदूतावास दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी विश्वविद्यालयमा पुगेका छन्। विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरी घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।

यसैबीच, कलेज प्रशासनले नेपाली विद्यार्थीलाई होस्टेलमा सुरक्षित रूपमा फर्कन अपिल गरिसकेको छ। साथै, नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने कलेज स्टाफलाई कारबाही गरिसकेको जानकारी पनि सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले नेपाली दूतावास दिल्लीसँग निरन्तर समन्वय गर्दै घटनाका विषयमा आवश्यक पहल गरिरहेको छ।

नेपाल सरकार, नेपाली दूतावास दिल्ली, र विश्वविद्यालय प्रशासनबीचको सहकार्यबाट नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गरिने परराष्ट्रमन्त्री राणाले बताउनुभएको छ।

समन्धित समाचार