शेखरको टिप्पणीः केपी ओलीको सुशासन घुस दिनेलाई समात्ने र लिनेलाई छोडिदिने रहेछ

shekhar koirala

२०८१ फागुन ६, मंगलवार

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार ठीक ढंगले नचलेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै कोइरालाले सरकार र सरकारी संयन्त्रहरुले अधिकारको दुरुपयोग गरिरहेको बताएका हुन् । नेता कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सुशासनको लागि भनेर बनाइएपनि यसले घुस दिनेलाई समात्ने र घुस लिने छोड्ने गरिरहेको बताए ।

उनले भने, “हामीले त यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर, कस्तो सुशासन दिने रहेछ भने घुस दिनेलाई समात्ने र घुस लिने छोडिदिने रहेछ ।” यससँगै, कोइरालाले महान्यायाधिवक्ता रमेश बडालको कार्यशैलीमाथि पनि प्रश्न उठाए। उनले महान्यायाधिवक्ता बडालमाथि राज्यले दिएको अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाउँदै भने, “हेर्न हो भने उहाँलाई राज्यले जुन अधिकार दिएको छ, त्यो अधिकारको दुरुपयोग भइराखेको छ भन्ने कुरा अब दुइमत छैन ।”

कोइरालाले भनें कि, “हामीहरु सरकार बाहिर छौं, सत्तापक्षमा छौं, तर सरकारमा छैनौं हामी। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ।” उनले सरकारको गलत क्रियाकलापको विरोध गरिने बताए।

नेता कोइरालाले वर्तमान सरकारको दुरुपयोगका बारेमा थप भने, “केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्र बनाएर सरकार चलाउने काम र दुष्प्रयास भइरहेको छ। लोकतन्त्रमा संयन्त्रले देश लाउन नहुने कुरा स्पष्ट छ।” उनले भने, “गठबन्धनको नाममा एमालेकरण भइरहेको छ कि भन्ने चिन्ता मलाई लागेको छ।”

उनले सरकारलाई सुधार्ने क्रममा अझै पनि लोकतान्त्रिक प्रक्रिया र सुशासनका आधारमा काम गर्नुपर्ने आवश्यकता छ भन्ने धारणा राखे।

यसका साथै, कोइरालाले आफ्नो पार्टीको चित्त नबुझेको कुरामा खबरदारी गर्ने र सरकारलाई अगाडि बढ्न दबाब दिने आवश्यकतामा जोड दिएका छन्।

समन्धित समाचार