मैले पहल गरेर बनेको सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पार्‍यो, देश एमालेकरण हुने खतरा छ: शेखर कोइराला

Oli Shekhar Deuwa

२०८१ फाल्गुन ६, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफैले पहल गरेर गठन गरेको वर्तमान सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका छन् । मंगलबार पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै कोइरालाले आफूले नै विशेष पहल गरेर बनाएको नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले नै देशलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका छन् ।

‘मैले पहल गरेर बनेको सरकार जसरी चल्दैछ, संसद् छलेर अध्यादेश ल्याउने जमर्को गरिराखेको छ, त्यसले लोकतन्त्रलाई अप्ठ्यारोमा पारिरहेको छ,’ उनले भने, ‘अध्यादेश राम्रो छ कि छैन, कस्तो छ भन्ने कुरा त्यो पछिको कुरा हो । तर संसद् बस्नुभन्दा छ दिन अघि अध्यादेश ल्याइन्छ भने के कारणले ल्याइएको हो ? अध्यादेश किन अर्जेन्सी पर्यो ? भन्ने कुरामा सरकारले स्पष्ट जवाफ दिन आवश्यक छ ।’

दलीय संयन्त्रप्रति आपत्ति

नेता कोइरालाले दुई दलीय संयन्त्र बनाएर देशभर अभ्यास गरिएको भन्दै गम्भीर आपत्ति जनाए । उनले दलीय संयन्त्रको माध्यमबाट शासन गर्ने कम्युनिस्ट शैलीलाई दोष दिँदै, देश एमालेकरण हुन लागेको गम्भीर खतरा रहेको बताए ।

‘लोकतन्त्र अप्ठ्यारोमा परेको छ । संयन्त्रले सरकार चलाउने प्रणाली कम्युनिस्ट देशमा मात्र हुन्छ, तर अहिले नेपालमा यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म लागू गरिसकेको छ । अब वडास्तरसम्म पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयास भइरहेको छ । बिस्तारै नथाहा पाउने गरी एमालेकरण भइरहेको छ भन्ने मलाई लागिरहेको छ,’ उनले चेतावनी दिए ।

कोइरालाले लोकतन्त्रको रक्षा गर्न कांग्रेसका कार्यकर्ताहरूले एकजुट हुनुपर्ने र एमालेकरणको विरुद्धमा खबरदारी गर्नुपर्ने आग्रह गरे ।

लोकतन्त्रको रक्षा गर्न एकता आवश्यक

शेखर कोइरालाले लोकतन्त्रको रक्षा गर्दै देशको सही दिशामा अघि बढाउन कांग्रेसभित्र एकता आवश्यक रहेको बताए । उनले कांग्रेस कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गर्दै देशलाई एमालेकरण हुन नदिन निरन्तर खबरदारी गर्नुपर्ने बताए ।

‘हामीले लोकतन्त्रलाई जोगाउनु छ भने अब सचेत रहनुपर्छ । कांग्रेस कार्यकर्ताहरू एकजुट नभए लोकतन्त्र थप संकटमा पर्न सक्छ,’ उनले जोड दिए ।

उनले आगामी दिनमा कांग्रेस नेतृत्वलाई थप सशक्त बनाउँदै मुलुकको राजनीतिक स्थिरता र लोकतन्त्रको रक्षा गर्न क्रियाशील रहन कार्यकर्ताहरूलाई आग्रह गरे ।

समन्धित समाचार