ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा, प्रचण्ड आउनुमात्रै क्रान्ति होइनः मन्त्री गुरुङ

Prithibi Subba Gurung

काठमाडौं, ५ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा भएको राजनीतिक परिवर्तनलाई मात्र क्रान्ति मान्न नसकिने बताएका छन्। उनले समाजका हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै वास्तविक क्रान्ति भनेको समाज, अर्थतन्त्र, शिक्षा, कृषि, उत्पादन प्रणाली लगायतका क्षेत्रहरूमा परिवर्तन ल्याउनु रहेको स्पष्ट पारे।

आज (सोमबार) काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पूर्वराजाहरु वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहको स्थानमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नु मात्रै परिवर्तनको परिभाषा हुन नसक्ने धारणा राखे।

राजनीतिक क्रान्तिको मात्र अर्थ हुँदैन

मन्त्री गुरुङले नेपालमा हालसम्मको परिवर्तनलाई केवल राजनीतिक नेतृत्व परिवर्तनको रूपमा मात्र बुझ्नु गलत हुने बताए। उनले भने,
“जे–जे भइरहेको छ, त्यो मात्रै परिवर्तन होइन। हरेक चिजमा परिवर्तन आउनु आवश्यक छ। क्रान्ति भनेको केवल राजाको ठाउँमा नयाँ नेता आउनु मात्र होइन। क्रान्ति भनेको इतिहासमा देखिनुपर्छ, हाम्रो समाजमा देखिनुपर्छ। कृषिमा, उत्पादन प्रणालीमा, हरेक क्षेत्रमा देखिनुपर्छ।”

उनले राजनीतिक क्रान्तिको प्रभाव समाजका सबै पक्षमा फैलिनुपर्नेमा जोड दिँदै भने, “राजनीतिक क्रान्तिको रापले हरेक क्षेत्रमा परिवर्तन ल्याउन सकेको छैन। त्यसलाई छुने बनाउनु पर्छ।”

हुलाक टिकटमा नेपालको सांस्कृतिक एवं भौगोलिक पहिचान

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले हुलाक टिकटमा नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक महत्व बोकेका विभिन्न चिजवस्तुहरू समेट्न बाँकी रहेको बताए। उनले आगामी दिनमा यस्ता चिजवस्तुहरूलाई प्राथमिकताका साथ हुलाक टिकटमा समेटिने विश्वास व्यक्त गरे।

उनले थपे, “नेपालको पहिचान झल्कने सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूलाई हुलाक टिकटमा समेट्नु जरुरी छ। यसले नेपालको विशेषता विश्वभर फैलाउने अवसर दिन्छ।”

समाजको हरेक क्षेत्रमा रूपान्तरण आवश्यक

मन्त्री गुरुङले समग्र रूपमा नेपालमा राजनीतिक मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन जरुरी रहेको उल्लेख गरे। उनले भने, “राजनीतिक परिवर्तनले मात्रै समृद्धि सम्भव छैन। कृषि, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, उद्यमशीलता जस्ता क्षेत्रमा परिवर्तन नआएसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन।”

उनको भनाइले नेपालमा वास्तविक क्रान्ति भनेको नेतृत्व परिवर्तनभन्दा बाहिर जानुपर्ने स्पष्ट पारेको छ। अबको प्राथमिकता आम नागरिकको जीवनस्तर सुधार्ने गरी समाजको हरेक क्षेत्रमा परिवर्तन ल्याउनु रहेको उनको धारणा थियो।

समन्धित समाचार