२०८१ फाल्गुन ५, सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै बल गरेपनि आफू नेतृत्वको वर्तमान सरकार १७ महिना कुनै खतरा नहुने दाबी गरेका छन्।
सोमबार लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढलोस् भनेर तोपै पड्काए पनि १७ महिनासम्म सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन्। उनले १७ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
१७ महिना सरकार सुरक्षित
प्रधानमन्त्री ओलीले भने, “यो सरकार ढलिहाल्छ भन्ने हल्ला फैलाइएको छ। यस्तो हल्ला नचले हुन्थ्यो, यसले युवामा निराशा छाउँछ। अब १७ महिना पनि बाँकी छ कि छैन, शायद ७ महिना बितिसक्यो। अबको १७ महिना मैले चलाउँछु। आफैं छाड्छु बेला पुगेपछि, बल गर्नै पर्दैन। त्यसपछि शेरबहादुरजीलाई सत्ता हस्तान्तरण गर्छु। कुरा क्लियर छ।”
कांग्रेस–एमाले मिल्नुपर्नाको कारण
प्रधानमन्त्री ओलीले मुलुक अप्ठ्यारोमा परेपछि कांग्रेस र एमाले मिल्नुपरेको बताए। उनले भने, “कांग्रेस र एमाले सबैभन्दा ठूला पार्टी हुन्। एक्लै बहुमत ल्याएर देश चलाउने पार्टीहरू त्यसै मिल्न जाँदैनथे होला। किन मिल्नुपर्यो? देशको अवस्था अप्ठ्यारो भयो। अर्थतन्त्र ओरालो लाग्यो। युवा विदेशिन थाले। रोक्ने उपाय थिएन। दुनियाँ आईटीमा अगाडि बढिसक्यो, हामी अघि बढ्न सकेनौं।”
उनले वर्तमान परिस्थितिमा राजनीतिक स्थिरता कायम राख्नु आवश्यक रहेको बताए।
कानुनी सुधार र अध्यादेशको प्रभाव
प्रधानमन्त्री ओलीले सरकारले कानुन अभावमा रोकिएका धेरै काम पूरा गर्न तुरुन्तै कदम चालेको बताए। उनले भने, “६ वटा अध्यादेशले २९ वटा कानुन बनाएर धेरै कामका लागि सजिलो हुने भएको छ। केही स्थानमा यसको विरोध गरिएको छ तर अन्य धेरै ठाउँबाट स्वागत भएको छ।”
प्रधानमन्त्री ओलीले कानुनी अड्चन हटाएर देशलाई आर्थिक रूपमा सबल बनाउन सरकार अग्रसर रहेको बताए।
यसैबीच, विभिन्न राजनीतिक विश्लेषकहरूले प्रधानमन्त्री ओलीको यो घोषणा सरकारको दीर्घकालीन रणनीतिको हिस्सा भएको बताइरहेका छन्। सरकार स्थिर रहने वा नहुने भन्ने विषयमा आगामी दिनहरूमा थप चर्चा हुने अपेक्षा गरिएको छ।





