२०८१ फाल्गुन ५, सोमबार
काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको दौडाहामा जाँदैछन्। लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली दाङ प्रस्थान गर्ने तयारीमा रहेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११:३० बजे बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसका लागि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका छन्।
यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए। यो दोस्रो पटक हुनेछ जब उनले प्रदेश सभालाई प्रत्यक्ष सम्बोधन गर्नेछन्।
प्रदेश सभा बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली घोराहीमा आयोजना हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आमसभामा उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका हालसम्मका उपलब्धि तथा भविष्यका योजनाबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको यो दौडाहाले लुम्बिनी प्रदेशमा राजनीतिक गतिविधिलाई थप गति दिने विश्वास गरिएको छ। यस कार्यक्रमलाई सफल बनाउन सुरक्षाका कडा प्रबन्ध मिलाइएको छ भने दाङ जिल्लामा ओलीको आगमनलाई लिएर कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन्।