कोरोना संक्रमितको संख्या बढीरहेका बेला निषेधाज्ञा खुकुलो बनाइयो

corona nisedaagya lockdown luck

झापा, १ भदौ । झापामा कोरोना संक्रमितको संख्या घटेको छैन । तर, जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा खुकुलो गरेको छ ।

झापामा सोमबार साँझको तथ्यांकअनुसार सक्रिय संक्रमित ३१७४ जना छन् । कोरोनाका कारण झापामा ५१९ को मृत्यु भएको छ । त्यसमध्ये कोरोनाको पछिल्लो लहरमा मात्र ३९० को मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । तर, मंगलबारदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय झापाले लकडाउनलाई खुकुलो गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय झापाले १६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा गरेको थियो । संक्रमणको ‘चेन ब्रेक’ गर्न गरिएको लकडाउनकै समयमा पनि संक्रमण दर बढिरहेको थियो । प्रशासनले निषेधाज्ञा जारी गरे पनि कडाई गर्न नसकेकै कारण संक्रमण दर बढेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले मंगलबारबाट भने पसल तथा बजार खोल्न दिने गरी निर्णय गरेको छ । व्यवसायीको दबाबको कारण कोरोना संक्रमण दर घट्न नपाउँदै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई नाम मात्रको बनाएको हो ।

नाम मात्रको निषेधाज्ञालाई भदौ १० गते राति १२ बजेसम्मका लब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । अब दुई चरणमा गरेर सबै पसल तथा बजार खुल्ने उनले बताए । पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बीउविजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटललगायतका अन्य सबै प्रकारका पसल बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय भएको प्रजिअले तिमिल्सिनाले बताए ।

पसल तथा बजार संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । अनुगमनको क्रममा मापदण्ड पालन नभएको पाइए कारबाही गरिने उनले बताए । झापामा अब सबै प्रकारका सवारी साधन सञ्चालन हुनेछ । तर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रजिअ तिमिल्सिनाले बताए । झापामा सबै प्रकारका सभा, सम्मेलन तथा भीड गर्न गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

समन्धित समाचार