परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्री मुराइखीसँग भेटवार्ता, विपिन जोशीको रिहाईको माग

arzu rana deuba and qatar 768x907 1

काठमाडौं, ४ फागुन २०८१ (आईतबार) – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्ता आज (आईतबार) ओमानको राजधानी मस्कटमा सम्पन्न भएको हो।

परराष्ट्रमन्त्री राणा आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमानमा पुगेकी छन्। सम्मेलनकै क्रममा उनी र कतारका विदेश राज्यमन्त्री मुराइखीबीच साइडलाइन बैठक सम्पन्न भएको हो। बैठकमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य तथा विविध विषयमा छलफल भएको मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।

उक्त भेटमा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतार सरकारको सहयोग आवश्यक रहेको बताएकी छिन्। उनले विपिन जोशीलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि आवश्यक पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई आग्रह गरेकी छिन्।

नेपाल सरकारले विपिन जोशीको सुरक्षित उद्धारका लागि विभिन्न कूटनीतिक पहल गरिरहेको छ। यसअघि पनि नेपालले जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको थियो।

यस भेटवार्ताले नेपाल–कतार सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने विश्वास लिइएको छ। नेपाल र कतारबीच लामो समयदेखि आपसी कूटनीतिक सम्बन्ध रहँदै आएको छ। कतारमा लाखौं नेपाली श्रमिक कार्यरत छन्, जसका कारण दुई देशबीचको सम्बन्ध अझै विशेष बनेको छ।

नेपाल सरकार र कतार सरकारबीचको यो उच्चस्तरीय भेटवार्ताले भविष्यमा द्विपक्षीय सम्बन्ध सुधार्ने तथा आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

समन्धित समाचार