‘दुखी आत्मा’लाई डेढसय, ‘रंगी’लाई ५६ शो : अग्रिम टिकट विक्री सुरु

dukhiaatma rangi

काठमाडौं । नेपाली फिल्म उद्योगका दर्शकहरूका लागि यो हप्ता रोचक सावित हुने देखिन्छ । शुक्रबारदेखि दुई नेपालीसहित चार फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली भाषाका ‘दुखी आत्मा’ र ‘रंगी’ दर्शकमाझ आउँदैछन् भने हलिउडको प्रतीक्षित ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’ र बलिउडको एक्सन फिल्म ‘छावा’ पनि रिलिज हुने तयारीमा छन् ।

फिल्म हलहरूले एड्भान्स टिकट विक्री खुला गरेका छन् । हल मालिकहरूले कलाकारको लोकप्रियता र विगतको बक्स अफिस प्रस्तुति हेरेर शो विभाजन गरेका छन् । सर्वाधिक शो दयाहाङ राई र आँचल शर्मा स्टारर ‘दुखी आत्मा’ले पाएको छ । यो फिल्मले डेढसय हाराहारीमा शो पाएको छ, जुन नेपाली फिल्मका लागि उत्साहजनक संख्या मानिन्छ ।

त्यसैगरी, सलोन बस्नेत र पूर्व मिस नेपाल नम्रता श्रेष्ठ स्टारर ‘रंगी’ले अपेक्षाभन्दा कम, ५६ हाराहारीमा मात्र शो पाएको छ । यसअघि टिजर र गीतहरू सार्वजनिक भइसकेपछि ‘रंगी’ प्रति दर्शकमाझ चासो बढेको थियो । तर, हलमा दर्शक तान्नका लागि यो फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्ने देखिन्छ ।

बलिउड फिल्म ‘छावा’, जसमा विक्की कौशल मुख्य भूमिकामा छन्, उसले ११६ शो पाएको छ । यो फिल्म एक्सनप्रधान भएकाले नेपाली दर्शकमाझ समेत राम्रो चर्चा पाइरहेको छ ।

त्यस्तै, हलिउड फिल्म ‘क्याप्टेन अमेरिका : व्रेभ न्यू वर्ल्ड’ को शो संख्या अझै निर्धारण भएको छैन । यो बारे बेलुकासम्म टुंगो लाग्ने बताइएको छ ।

हाल नेपाली मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूमा फिल्महरूको उल्लेखनीय भीड देखिएको छ । हाल प्रदर्शन भइरहेका फिल्महरूमा ‘एक्टर : टेक वन’, ‘ममी’, ‘देवा’, ‘जुना’, ‘सारंग’, ‘बडास रविकुमार’, र ‘पूर्णबहादुरको सारंगी’ रहेका छन् ।

यो हप्ता दर्शकहरूका लागि विभिन्न विधाका फिल्महरूको विकल्प उपलब्ध छ । अब हेर्न बाँकी छ, कुन फिल्मले बढी दर्शक तान्न सफल हुन्छ र बक्स अफिसमा आफ्नो पकड बनाउँछ ।

समन्धित समाचार