काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध नेपाली जनताको युगान्तकारी अभियान र कीर्तिमान कायम गर्ने युद्ध रहेको बताएका छन्।
जनयुद्ध दिवसको अवसरमा माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध ऐतिहासिक रहेको र यसलाई इतिहासबाट कसैले मेटाउन नसक्ने बताए। उनले चेतावनी दिँदै भने, “जनयुद्धलाई जसले मेटाउने दुस्साहस गर्छ, उही खरानी हुन्छ।”
जनयुद्ध ऐतिहासिक छ, यसलाई मेट्न सकिँदैन
उनले जनयुद्धलाई विकृत पार्ने विभिन्न प्रयास भए पनि नेपाली जनताको युगान्तकारी अभियानका रूपमा यसलाई निरन्तर अघि बढाउनु पर्ने बताए।
“हजारौं सहिदहरूको बलिदानबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ताहरूको त्याग र तपस्याबाट सञ्चित यो प्रक्रिया नेपालको समग्र राजनीतिक प्रक्रियामा सयौं वर्षसम्म रहने छ। कसैले मेटाएर यो मेटिने छैन,” उनले भने।
संविधान र जनअधिकारको रक्षाका लागि निरन्तर सङ्घर्ष
प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानको मान्यता र जनअधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे। उनले अहिले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न आफूहरू दृढ रहेको बताए।
“अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेको छ। हामीले धेरै वर्ष पहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भन्ने आकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ,” उनले भने।
उनका अनुसार, एकथरी तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयास गरिरहेका छन्, तर माओवादीले समाजवादी गणतन्त्रमा रूपान्तरण गरेरै छाड्ने दृढ अठोट लिएको छ।
जनताका एजेण्डा अघि बढाउने प्रतिबद्धता
प्रचण्डले माओवादी अब समुदायतर्फ फर्किएर जनताका एजेण्डाहरूलाई दृढतापूर्वक अघि बढाउने बताएका छन्।
“राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरिए पनि जनताले महसुस गर्नेगरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने प्रयासमा पार्टी लाग्नुपर्छ,” उनले जोड दिए।
३०औं जनयुद्ध दिवस मनाइयो
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्त्र सङ्घर्ष सुरु गरिएको थियो। सोही दिनको सम्झनामा माओवादी केन्द्रले आज ३०औं जनयुद्ध दिवस मनाएको हो।
यस अवसरमा अध्यक्ष प्रचण्डलगायत माओवादी नेताहरूले पार्टी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए।





