इलाममा बाबुको हत्या : छोराबुहारीसहित ६ जना पक्राउ

Death body 900px

३० माघ, काठमाडौं । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ परेका छन्। सुर्योदय नगरपालिका–११ का ५१ वर्षीय धनराज राईको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छोराबुहारीसहित अन्य चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई, उनकी श्रमिती २६ वर्षीया मालती तामाङ, २४ वर्षीय सुमन भनिने नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजिव राई, र २३ वर्षीय दिवस राई रहेका छन्। पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोरा र बुहारी हुन्।

इलाम प्रहरीका डीएसपी मानबहादुर राईका अनुसार छोराबुहारीकै योजना र निर्देशनअनुसार बाँकी चार जनाले धनराजको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार, बाबुछोराबीच घरायसी विवाद लामो समयदेखि चलिरहेको थियो। करिब आठ महिना अघि बाबुसँगको विवादका कारण एडवर्ड र मालती अलग्गै बस्न थालेका थिए।

हत्याको एक साता अघि अम्रिसो बेच्ने विषयमा बाबु धनराज र छोराबुहारीबीच पुनः विवाद भएको खुलेको छ। अनुसन्धानको क्रममा, अम्रिसो किन्न खोज्ने समूहकै व्यक्तिहरू प्रयोग गरी धनराजको हत्या योजना बनाइएको पुष्टि भएको प्रहरीले जनाएको छ।

हत्या कसरी भयो?

२८ माघको दिउँसो ११ बजेतिर धनराज मृत फेला परेको भन्दै प्रहरीलाई खबर आएको थियो। आफ्नै घरको भुईंतलामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार, पक्राउ परेका चार जना धनराजको घरमा अम्रिसो किन्न आएको बहानामा प्रवेश गरेका थिए। त्यही क्रममा उनीहरूले रड, फरुवा, आग्लोलगायतका हतियार प्रयोग गरी धनराजको हत्या गरेका थिए।

घटनापछि इलाम प्रहरीले ती व्यक्तिहरूलाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो। पर्याप्त प्रमाण फेला परेपछि छोराबुहारीसहित अन्य चार जनालाई पक्राउ गरिएको डीएसपी राईले बताए। हाल पक्राउ परेकाहरूलाई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

समन्धित समाचार