रास्वपाका सांसदहरुलाई जर्‍याकजुरुक उठाउनेगरि २ मिनेटमा के भनेका थिए रामहरिले ?

ramhari khatiwada 1 768x512 1

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शून्य समय सकिएपछि पनि विशेष समय दिएको भन्दै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

आज बसेको बैठकमा शून्य समय सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् । उपसभामुखबाट बोल्ने समय पाएपछि २ मिनेट बोलेका रामहरिले गृहमन्त्री रमेश लेखक र प्रहरीका आईजीपी बसन्त कुँवरको बचाउ गर्दै आफ्नो कुरा राख्न सुरु गरे ।

खतिवडाले आफ्नो सम्बोधनका क्रममा रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरी संगठनमा बेथिति भित्रिएको आरोप लगाए । उनले १६ महिना जुनियरलाई बढुवा गरिएको, मोलतोल गरेर सरुवा भएको तथा प्रहरी प्रशासनमा अनियमितता मौलाएको जस्ता विषय उठाए ।

खतिवडाको भाषण लगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको हो भनेर नियमापत्ति जनाए । उपसभामुख रानाले आफूले लिस्ट हेर्दा झुक्किएर बोलाएको स्वीकार्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादी सांसद तथा प्रमुख सचेतक हितराज पाण्डेले पनि उठेर नियमापत्ति जनाएपछि सदनको माहोल तातेको थियो ।

रामहरि खतिवडाको २ मिनेटे सम्बोधनको मुख्य अंश

“संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा के भयो भन्ने बिर्सनु हुँदैन । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरिएको देख्यौँ । आईजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदेऊ भनेर कानेखुसी गरिएको देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो भन्ने हेर्ने बेला आएको छ । प्रहरी संगठनमा हाइजम्प, लमजम्प गरियो ।”

“दुई ब्याज पछाडिकोलाई प्रमोसन दिइयो । त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो । त्यो कसको पालामा भएको हो भन्ने जवाफ चाहिन्छ । बहस गर्ने वकिललाई गालामा हान्ने काम गरियो, सडकमा तानियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दाबाद मुर्दावादको प्रचलन सुरु गरियो । यो सबै कसको पालामा भएको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भनेका छैनौँ ।”

प्रतिपक्षी दलको कडा प्रतिक्रिया

रामहरि खतिवडाको सम्बोधनपछि सदनमा एकाएक तनाव सिर्जना भयो । रास्वपाका सांसदहरूले कडा प्रतिवाद गर्दै उनको अभिव्यक्तिको विरोध जनाए । रास्वपा सांसद गणेश पराजुलीले खतिवडालाई बोल्न समय दिने निर्णय नै अवैध रहेको भन्दै विरोध जनाए । प्रमुख सचेतक हितराज पाण्डेले समेत यो निर्णयप्रति आपत्ति जनाएपछि सदनको कार्यवाही अवरुद्ध भयो ।

उपसभामुख इन्दिरा रानाले समय दिने क्रममा गल्ती भएको स्वीकार गर्दै सदनको कारवाही अघि बढाउने प्रयास गरिन् । तर प्रतिपक्षी दलको चर्को विरोधपछि बैठक केही समयका लागि स्थगित गरियो ।

निष्कर्ष

रामहरि खतिवडाको छोटो सम्बोधनले संसदमा ठूलो हलचल मच्चायो । गृहमन्त्री रमेश लेखक र आईजीपी बसन्त कुँवरको बचाउ गर्दै उनले राखेका बिषयहरूले रास्वपा सांसदहरूलाई आक्रोशित बनायो । सभामुखको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेपछि अन्ततः बैठक स्थगित गर्नुपर्‍यो । अब यो विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच थप बहस हुने संकेत देखिएको छ ।

समन्धित समाचार