नेपाली महिलालाई गैरकानुनी तरिकाले कुवेत पुर्‍याउनेलाई कारबाही गर्न सांसद खनालको माग

HomeMinistry 1679901819 1

काठमाडौं, २८ माघ – गैरकानुनी तरिकाले नेपाली महिलालाई कुवेत पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले माग गरेका छन्।

संसदको सोमबारको बैठकमा बोल्दै सांसद खनालले सरकारको नीति विपरीत महिलाहरू घरेलु कामदारका रूपमा कुवेत पुग्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद रहेको बताए। उनले सरकारको पूर्वघोषित प्रतिबन्धलाई बेवास्ता गर्दै दलालहरूको सक्रियताका कारण महिलाहरू कुवेत पुग्न बाध्य भएको तथ्यलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरे।

कुवेतमा नेपाली महिलाको संख्या दोब्बर

खनालका अनुसार सरकारले झन्डै १० वर्षअघि नेपाली महिलाहरूलाई घरेलु कामदारको रूपमा कुवेत पठाउन रोक लगाएको भए पनि हाल त्यहाँ कार्यरत नेपाली महिलाको संख्या झन् बढेको छ। अहिले कुवेतमा झण्डै ५० हजार नेपाली महिला घरेलु कामदारको रूपमा कार्यरत रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकारको नीति नै असफल भएको प्रमाणित भएको बताए।

उनले भने, ‘सरकारको स्थापित नीति र प्रतिबन्धको खिल्ली उडाउने गरी कुवेतमा नेपाली महिलाको संख्या निरन्तर वृद्धि हुनु नेपालको वैदेशिक सम्बन्ध र कूटनीतिक क्षमतामाथि गम्भीर प्रश्न खडा गर्ने विषय हो।’

शोषण र अमानवीय अवस्था

सांसद खनालले सजिलो आम्दानीको लोभमा दलालहरूको जालमा परेर कुवेत पुगेका महिलाहरू न्यून तलबमा काम गर्न बाध्य भएको उल्लेख गरे। उनले धेरैजसो महिलाहरू शारीरिक तथा मानसिक शोषणको सिकार भइरहेको तथा आपतकालीन अवस्थामा नेपाली दूतावासले समेत उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नसकेको बताए।

‘सुरक्षा खोज्दै आउने महिलाहरूलाई नेपाली राजदूतावासको ८ जना अट्ने सेल्टरमा ४०–५० जना राख्नुपर्ने अवस्था छ। यो अत्यन्तै अमानवीय अवस्था हो, जसलाई तत्काल सम्बोधन गर्नुपर्छ,’ सांसद खनालले भने।

सरकारलाई कारबाही र सुरक्षा प्रवन्धको माग

सांसद खनालले गैरकानुनी रूपमा महिलाहरूलाई कुवेत पठाउने एजेन्टहरूलाई छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरे। साथै, कुवेतमा रहेका नेपाली महिलाहरूको सुरक्षाका लागि कडा नीति लागू गर्दै दूतावासमार्फत सहयोगी संरचना निर्माण गर्न आग्रह गरे।

उनले नेपाली महिलाहरूलाई विदेशमा सुरक्षित रोजगारको अवसर सुनिश्चित गर्न दीर्घकालीन रणनीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए। ‘हामी नेपाली महिलाको शोषण रोक्नुपर्छ, गैरकानुनी मानव तस्करीमा संलग्नलाई दण्डित गर्नुपर्छ,’ उनले जोड दिए।

नेपालबाट गैरकानुनी रूपमा वैदेशिक रोजगारीका लागि महिलाहरूलाई पठाउने प्रवृत्ति रोक्न सरकारको कडाइ आवश्यक रहेको भन्दै सांसद खनालले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

समन्धित समाचार