काठमाडौं, २८ माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रसिद्ध कवि कृष्ण सेन इच्छुकको कविता गुनगुनाएका छन्।
संसद्मा आफ्नो धारणा राख्ने क्रममा सांसद श्रेष्ठले सरकारद्वारा प्रस्तावित सामाजिक सञ्जाल नियन्त्रण विधेयकलाई लिएर सरकारको आलोचना गरे। उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न सरकार लागेको भन्दै इच्छुकको कविता उद्धृत गरे।
“हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ, गाउन त गाउ तर यो गीत नगाउ हामी भने त्यही गीत गाइरहन्छौं।”
सांसद श्रेष्ठले यस कविता मार्फत सरकारको नीति र कदमप्रति असन्तुष्टि व्यक्त गरे। उनले नागरिकको स्वतन्त्र विचारलाई दबाउने प्रयास भइरहेको उल्लेख गर्दै गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमाले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँको सम्झना गरे। उनले प्रश्न गर्दै भने, “अहिले कुन बयलगाढाको चक्का खुस्किएर अभिव्यक्ति स्वतन्त्रताको लडाइँ रोकिएको हो?”
सामाजिक सञ्जाल नियन्त्रण विधेयकको आलोचना
सांसद श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयकमार्फत सरकार नागरिकलाई नियन्त्रणमा राख्न खोजिरहेको आरोप लगाए। “के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदार राख्न सकियोस्?” भन्दै उनले सरकारलाई प्रश्न गरे। उनले सरकार नागरिकलाई अनावश्यक जरिवाना लगाउने तयारीमा रहेको बताउँदै भने, “सरकार खुद्रे कुरामा लाखौं करोडौं जरिवानाको मेन्यु ल्याउँदैछ। नागरिकलाई तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ। तर, झूटो आशा देखाउने, भ्रम फैलाउने, असम्भव बाचा गर्नेहरूलाई चैं उन्मुक्ति?”
सांसद श्रेष्ठले सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको आरोप लगाउँदै भने, “यदि साँच्चै राम्रो नियतले सामाजिक सञ्जाल नियन्त्रण विधेयक ल्याइएको हो भने, सबैभन्दा पहिला शक्ति र सत्ताबाट झूठ बोल्नेहरू कारबाहीको सूचीमा पर्नुपर्ने हुन्छ।”
विरोधका स्वरहरू बलियो बन्दै
सामाजिक सञ्जाल नियन्त्रण विधेयकको प्रस्ताव संसद्मा आएको भए पनि यसको चौतर्फी विरोध भइरहेका छन्। नागरिक समाज, मानव अधिकारकर्मी, तथा स्वतन्त्र राजनीतिक विश्लेषकहरूले पनि सरकारको कदमलाई अस्वीकार गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको बताएका छन्।
सांसद श्रेष्ठको धारणा संसद्भित्र मात्रै सीमित रहेन, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उनको भनाइको समर्थन गर्दै सरकारको आलोचना गरिरहेका छन्।
नेपालको लोकतान्त्रिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका संघर्षहरू स्मरण गर्दै सांसद श्रेष्ठले सरकारलाई चेतावनी दिए, “हामीले धेरै तानाशाही भोग्यौं, धेरै रोकावटहरू सह्यौं। तर हामी कहिल्यै नरोकिनेछौं।”





