‘नो केबलकार समूह’सँगको वार्ता विथोलियो, मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने
ताप्लेजुङ, माघ २७ – ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबलकारको विषयमा विस्तृत छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच वार्ता हुने भनिए पनि छलफल विषय प्रवेशमै नगरी अन्त्य भएको हो।
वार्ता किन विथोलियो?
‘नो केबलकार समूह’का प्रतिनिधि सन्तोष मेहेताले आफूहरूले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँग मात्रै छलफल गर्ने अडान राखेका कारण बैठक निष्कर्षविहीन भएको बताए। उनका अनुसार सरकारी पक्ष कर्मचारीस्तरबाट वार्तामा सहभागी भएपछि उनीहरूले छलफल नै अघि नबढाउने निर्णय गरेका हुन्।
“हामी मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँग मात्रै छलफल गर्न चाहन्छौं। तर, वार्तामा कर्मचारीलाई पठाइयो, जसका कारण छलफल सम्भव भएन,” मेहेताले भने। “सरकारी पक्षले केबलकार जसरी पनि निर्माण गर्ने र सेयर तथा रोजगारीमा सहमति जुटाउने प्रस्ताव राखे, तर हामी त्यसबारे छलफल गर्नै चाहँदैनौं।”
सरकारी वार्ता टोलीको नेतृत्व कसले गरे?
आजको वार्तामा गृहमन्त्रालयका तर्फबाट प्रेमप्रसाद भट्टराईको नेतृत्वमा छलफल भएको थियो। तर, आन्दोलनरत पक्षले कर्मचारीस्तरका वार्ताकारहरू नभई राजनीतिक संयन्त्रसँग मात्रै वार्ता गर्ने अडान लिएपछि छलफल निष्कर्षविहीन रह्यो।
मन्त्रीस्तरीय वार्ता टोली गठनको माग
यो विषय राजनीतिक मुद्दा भएकाले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने ‘नो केबलकार समूह’को माग छ। उनीहरूले साँझसम्म यस्तो टोली नबने भोलिदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।
“हामीले सरकारलाई मन्त्रीस्तरीय टोली गठनका लागि आज साँझसम्म समय दिएका छौं। अन्यथा, भोलिदेखि नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,” मेहेताले भने।
पछिल्लो सहमति र आन्दोलनको पृष्ठभूमि
२२ माघमा ‘नो केबलकार समूह’ र सरकारबीच भएको ६ बुँदे सहमतिअनुसार माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्ने निर्णय गरिएको थियो। सहमति भएपछि ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो।
त्यस क्रममा निम्न सहमतिहरू भएका थिएः
- आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क तथा प्रभावकारी स्वास्थ्य उपचार सरकारद्वारा गरिने।
- माघ १२ गतेको घटनामा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने।
- आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाउने।
- मुक्कुमलुङ संरक्षक पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता लिने।
- माघ २७ गते (आज) पुनः विस्तृत छलफल गर्ने।
तर, आजको वार्ता बिना निष्कर्ष टुंगिएपछि आन्दोलन पुनः चर्किन सक्ने संकेत देखिएको छ।
अब के होला?
‘नो केबलकार समूह’ले सरकारलाई मन्त्रीस्तरीय टोली बनाएर वार्ता गर्न दबाब दिइरहेको छ। यदि सरकार उक्त माग पूरा गर्न असमर्थ भए, आन्दोलन फेरि चर्किन सक्नेछ। आन्दोलनरत पक्षले भोलिदेखि आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने बताइसकेको छ।
यस विषयमा सरकारी पक्षको आधिकारिक धारणा भने आउन बाँकी छ।