पोखरामा विवादित कोटीहोम: कृष्णमूर्तिको अभिव्यक्ति र वृक्ष विनाशले बढायो तनाव

BIjaya bhandari thag

पोखरामा विवादित कोटीहोम: कृष्णमूर्तिको अभिव्यक्ति र वृक्ष विनाशले बढायो तनाव

पोखरा, २७ माघ २०८१ – आगामी वैशाखदेखि पोखरामा आयोजना गर्न लागिएको कोटीहोम सुरु नहुँदै विवादको घेरामा परेको छ। विवादास्पद भनिएका बालयोगेश्वर विजय कृष्णमूर्ती (विजय भण्डारी) को मानव सेवा फाउण्डेसन ले नेपाल ट्रस्टको जग्गा भाडामा लिएर कोटीहोम आयोजना गर्ने तयारी गरेको छ। तर, उक्त आयोजनाले पोखरामा ऐतिहासिक महत्व बोकेका वर, पिपल, समी का रुख कटान गरिएपछि स्थानीय प्रशासन, महानगरपालिका र वातावरणविद्हरूको कडा आलोचनाको सामना गर्नुपरिरहेको छ।

वृक्ष कटान र प्रशासनको हस्तक्षेप

पोखराका ऐतिहासिक चौतारामा रहेका वर, पिपल, समीका रूख काटिएपछि महानगरले कडा कदम चालेको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य का अनुसार कोटीहोमका लागि अनुमति नलिई वृक्ष कटान गरिएको हुँदा महानगरले काठ जफत गरेको छ। यस सम्बन्धमा महानगर कार्यपालिका बैठकले निर्णय गरी नेपाल ट्रस्ट लाई पत्राचारसमेत गरिसकेको छ।

“फेवा किनारमा यति लामो समयसम्म हुने कोटीहोम आयोजना गर्न सकिँदैन,” मेयर आचार्यले स्पष्ट पारे। “धार्मिक कार्यक्रम गर्नका लागि वातावरण समिति, प्रशासन, नगर प्रहरी लगायत सबै निकायको राय लिइनेछ। बिनाअनुमति कसैले सार्वजनिक जग्गामा ठूलो कार्यक्रम आयोजना गर्न पाउँदैन।”

भण्डारीको चेतावनीपूर्ण अभिव्यक्ति

यसैबीच, कोटीहोम आयोजनाको अनुमति नपाउने अवस्था देखिएपछि विजय भण्डारी ले कडा अभिव्यक्ति दिएका छन्। उनले आइतबार पत्रकार सम्मेलन गर्दै भने, “अब कुनै पनि हालतमा यो यज्ञ रोकिएर रोकिनेवाला छैन। बालयोगेश्वर यहाँ यज्ञ नगरी फर्किन्न।”

उनको अभिव्यक्तिले झन् विवाद बढाएको छ। उनले अगाडि थपे, “धर्मको लागि अधर्म गर्नुपर्छ भने म तयार छु। कोटीहोम गर्न दिइएन भने लड्न परे पनि लड्छौं।”

यस्ता अभिव्यक्तिले प्रशासन र नागरिक समाजबीच गहिरो असहमति निम्त्याएको छ।

फाउण्डेसनको दाबी र भण्डारीमाथिका आरोपहरू

मानव सेवा फाउण्डेसन ले कोटीहोमका लागि नेपाल ट्रस्टलाई ११ लाख ५० हजार रुपैयाँ बुझाइसकेको दाबी गरेको छ। तर, महानगरले अनुमति नदिने निर्णय गरेपछि भण्डारी र प्रशासनबीच तनाब बढेको छ।

भण्डारीमाथि यसअघि पनि विवादित आरोप लाग्दै आएका छन्। उनी वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा पाँच पटक पक्राउ परिसकेका छन्। पशुपतिमा आयोजित कोटीहोममा घाटा भएको तथा आर्थिक अपचलन भएको आरोप पनि लगाइएको छ। तर, भण्डारीले आफूले कसैलाई ठगेको प्रमाणित नभएको जिकिर गरेका छन्।

उनले भने, “मैले कसैको एक रुपैयाँ ठगेको छैन। न्यायालयमा मेरो कुनै आपराधिक रेकर्ड छैन।” उनले प्रहरी प्रशासनबाट प्रदान गरिएको आपराधिक अभिलेख नभएको प्रमाणपत्रसमेत देखाएका छन्।

पोखरामा कोटीहोम आयोजनाको भविष्य अन्योलमा

भण्डारीको भनाइ अनुसार कोटीहोम वैशाख १ देखि जेठ १५ सम्म ४५ दिनसम्म चल्नेछ र २५ करोड रुपैयाँ खर्च लाग्नेछ। उनले पोखराका २५ वटा होटल बुक गरिएको, स्वयंसेवकहरूका लागि आवासको व्यवस्था मिलाइएको दाबी गरेका छन्।

तर, मेयर आचार्यले भने फेवा किनारमा यति लामो धार्मिक कार्यक्रम आयोजना गर्न नसकिने पुनः दोहोर्‍याएका छन्। “धर्मका नाममा यस्तो अराजक अभिव्यक्ति दिनु उपयुक्त होइन। कानुन सबैका लागि समान हुन्छ।”

पोखरा महानगरले वृक्ष कटानमा संलग्नहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा पत्राचार गरिसकेको छ। स्थानीय नागरिक र पर्यावरणविद्हरूले पनि ऐतिहासिक वृक्षहरूको विनाशको निन्दा गर्दै यस आयोजनालाई रोक्न माग गरिरहेका छन्।

अब कोटीहोम आयोजनाको भविष्य के हुने भन्ने विषय अझै अन्योलमा छ। प्रशासनले कार्यक्रम रोक्ने प्रयास जारी राखेको छ भने विजय भण्डारी र उनका समर्थकहरूले कोटीहोम गर्न कटिबद्ध रहेको बताएका छन्। यसले आगामी दिनमा पोखरामा थप विवाद सिर्जना गर्न सक्ने देखिन्छ।

समन्धित समाचार