ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो

child arrested men viya Vietnam citizen 1024x624 1

काठमाडौं, २७ माघ – ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। कलंकीस्थित होटलबाट उद्धार गरिएका ती बालकलाई भारतको पञ्जाब लैजाने तयारी भइरहेको खुलेको छ।

अपहरणको आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त तथ्य खुलेको अनुसन्धान अधिकृतहरूले बताएका छन्। प्रहरीका अनुसार, बालकलाई पञ्जाबमा राख्ने व्यवस्था मिलाइसकेको र त्यसका लागि बसको टिकटसमेत काटिसकेको पाइएको छ।

अपहरणको घटना विवरण

ललितपुर महानगरपालिका-१२, पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालक २४ माघमा अपहरणमा परेका थिए। राति ८:२० बजे ती बालक हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीको विशेष अनुसन्धान टोलीले बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसबाट बन्धक बनाइएको अवस्थामा उद्धार गरेको थियो।

भियतनामी नागरिकको संलग्नता

२३ वर्षीय भियतनामी नागरिक मि हाङ किन्हालुन सन् २०२३ डिसेम्बर २७ मा नेपाल आएका थिए। नेपालमा ११ दिन बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए। त्यसपछि, २०२४ अप्रिल २७ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुनः नेपाल प्रवेश गरेका थिए।

नेपाल आएपछि उनले स्वयम्भूस्थित एक होटलमा दुई महिना बिताएका थिए। त्यसपछि ठमेलको एक होटलमा एक हप्ता र बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलमा केही समय बसेका थिए। उनी स्वयम्भू, बौद्ध, कपन लगायतका गुम्बामा लामा भाषा सिक्न जाने गर्थे भने घुमफिरका क्रममा प्रायः पाटन दरबार स्क्वायर जाने गरेको देखिएको छ।

अपहरण योजना र उद्धार

२५ माघको बिहान १०:३० बजे उनले काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामक बसको सिटी ‘बी’ को ३ र ४ नम्बर टिकट बुकिङ गरेका थिए।

बालकलाई अपहरण गरी कलंकीस्थित इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा राखिएको थियो। प्राविधिक अनुसन्धानबाट प्रहरीले अपहरणबारे जानकारी पाएपछि तत्काल गेस्टहाउसमा छापा मारेर बालकलाई सुरक्षित उद्धार गरेको थियो। उद्धारपछि बालकलाई पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराइ सामान्य अवस्थामा रहेको पुष्टि भएपछि परिवारको जिम्मा लगाइएको छ।

अपहरणको शैली

अनुसन्धानअनुसार, भियतनामी नागरिकले गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा अपहरणमा परेका बालकका दाइसँग चिनजान गरेका थिए। उनले चिप्स, चकलेटजस्ता सामग्री खरिद गरी बालबालिकासँग सम्बन्ध बढाएका थिए।

२४ माघको साँझ उनले बालकलाई इनड्राइभमार्फत ट्याक्सी बुक गरेर पाटनबाट झम्सीखेल लगे। त्यहाँबाट अर्को ट्याक्सीमा सुन्धारा पुगेपछि उनी श्री गुरु होटलमा बसे। त्यसपछि उनले बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा लगेर बन्धक बनाएका थिए।

प्रहरीको कारबाही

प्रहरीले पक्राउ परेका भियतनामी नागरिकको साथबाट चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटप बरामद गरेको छ। उनलाई हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।

समन्धित समाचार