प्यालेस्टिनी समूह हमासले आज गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक रिहा गरेको छ ।
युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो । आज मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी तीनै जना सर्वसाधारण हुन । हमासले उनीहरूलाई सन २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो ।
हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले पनि थप १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । आज रिहा भएकामध्ये ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद सजायहरू काटिरहेकाहरू हुन । इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।
६ साता लामो युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धक रिहा गर्न सहमत भएको छ । त्यसको बदलामा करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुने जनाइएको छ । ३३ जनामध्ये केहीको मृत्यु भइसकेको जनाइएको छ ।