२६ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल अपराधिहरूको हिम्मत यति बढेको बताएका छन् कि अब उनीहरू नेपाल प्रहरीले समेत नटेर्ने अवस्था सिर्जना भएको छ।
नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा अपराधीहरू निर्भीक भएर हिँड्ने गरेको तथ्य उजागर गरे।
प्रधानमन्त्री ओलीले विगतमा प्रहरीले अपराधीलाई सिधा आँखाले हेर्दा समेत डराउने अवस्था रहेको तर अहिले त्यो परिपाटी बदलिएको बताए। “पहिले प्रहरीलाई सिधा आँखाले हेर्न नसक्ने अपराधीहरू अहिले लाज सरम नमानी खुलेआम हिँड्न थालेका छन्,” उनले भने।
सुन तस्कर प्रहरीलाई नै हप्काउन थाले
उनले अहिलेको अवस्थालाई उदाहरण दिँदै सुन तस्करहरूले प्रहरीलाई नै हप्काउन थालेको बताए। “सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ। ‘ओए… किन हेरेको?’ भन्छ। झोलाभरि सुन हुन्छ तर उल्टै प्रश्न गर्छ – किन हेर्या?” प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने।
प्रधानमन्त्री ओलीले अहिले जमाना नै फेरिएको उल्लेख गर्दै अपराधीहरू बौद्धिक तवरले अपराध गर्दै समाजमा घुलमिल हुने रणनीति अपनाएको बताए। “हामी जस्ता भलाद्मी, सोझा-सिधा, इमानदारलाई ‘किन हेरेको छ हँ?’ भन्छन्। ‘म चिन्या छ हँ!’ भनेपछि झन् के हो के हो… यस्तो खाल्को जमाना छ,” उनले थपे।
अपराध नियन्त्रणमा प्रहरीलाई कडा बन्न निर्देशन
प्रधानमन्त्री ओलीले अपराधीहरूको यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल प्रहरीलाई निष्पक्षता र स्वतन्त्रताका साथ कठोर बन्न निर्देशन दिए। उनले अपराध तथा अवैध गतिविधिहरू रोक्न प्रहरी प्रशासनलाई थप सक्रिय र प्रभावकारी रूपमा काम गर्न आग्रह गरे।
प्रधानमन्त्रीको भनाइअनुसार, नेपालमा अपराध तथा तस्करीको बिगबिगी नियन्त्रण गर्न अबको प्रहरी बल कठोर र कडारूपमा प्रस्तुत हुनुपर्छ। उनले प्रहरी प्रशासनलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार रहन र अपराधीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन निर्देशन दिएका छन्।