त्रिकोणात्मक महिला टी–ट्वेन्टीको अन्तिम खेलमा पनि नेपाल पराजित

8 2

त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। 

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। 

 थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, कपतान इन्दु बर्माले १० रन बनाउँदा डेब्यु गरेकी राजमती ऐरी ११ रनमा अविजित रहिन्।

अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जारी सिरिजमा खेलेका सबै ६ खेलमा नेपाल जितविहीन बन्यो ।

यसअघि नेपाल थाइल्याण्डसँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो । जितसँगै थाइल्याण्डले शृंखलाको उपाधि पनि जितेको छ । थाइल्याण्डले खेलेका ६ मध्ये ५ खेलमा जित निकालेको थियो । थाइल्याण्डले नेदरल्याण्ड्ससँगको एक खेलमा मात्रै हार व्यहोरेको हो। 

समन्धित समाचार