काठमाडौं – राजधानीमा जारी महिला टी-२० सिरिजमा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले कुनै पनि विकेट नगुमाई सहजै पूरा गर्यो। नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९८ रन बनाइन्। उनले ११ चौका र २ छक्का प्रहार गरिन्। अर्की ओपनर फेबे मोल्कनबोरले पनि अविजित ४८ रनको योगदान दिइन्।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको सम्मानजनक स्कोर खडा गरेको थियो। नेपालको ब्याटिङ तर्फ पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अविजित अर्धशतकिय पारी खेलिन्। उनले ५१ बलमा ५ चौकासहित ६२ रन बनाइन्। यस्तै, कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रनको योगदान दिइन्।
बलिङ तर्फ नेदरल्यान्ड्सका आइरिस विलिङले २ विकेट लिँदा, कारोलिन डे लाङ र हिथर सिगर्सले समान १-१ विकेट लिए।
यस हारसँगै नेपालले महिला टी-२० सिरिजमा लगातार पाँचौ पराजय बेहोरेको छ। नेपाली टोलीका लागि यो प्रतियोगिता चुनौतीपूर्ण बनिरहेको छ भने टोलीको प्रदर्शन सुधार्न आवश्यक रहेको विश्लेषकहरू बताउँछन्।