२३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। उनले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल सञ्चालन गर्न नदिने बताएका छन्।
मन्त्री गुरूङले एक कार्यक्रममा बोल्दै भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ। हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ। आएन भने नेपालमा चल्न दिन्नौं।’
सामाजिक सञ्जाल नियमनको आवश्यकता
सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि नयाँ विधेयक ल्याइएको बताएका छन्।
‘हाम्रो सामाजिक सद्भाव जसले भत्काउँछ, त्यसलाई हामीले राखेकै छौँ। हाम्रो धार्मिक सहिष्णुता भत्काउनेलाई राखेका छौँ,’ उनले भने, ‘त्यसलाई हामी रोक्न चाहन्छौँ, त्यसलाई हामी नियमन गर्न चाहन्छौँ। त्यसैले हामीलाई यो विधेयक चाहिएको हो।’
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता
मन्त्री गुरुङले मनपरी लेख्ने र मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्मा विधेयक पेस गरिएको बताए। उनले लोकतन्त्रमा विरोध हुनु स्वाभाविक भएको स्वीकार गर्दै भने, ‘धेरैको माग के छ भने, यो सोसल मिडियालाई रेगुलेट गर्नुपर्छ। मनपरी गर्ने, मनपरी भन्नेकुरा लोकतन्त्र होइन होला नि त। त्यसैले हामीले सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, र नियमन गर्ने विधेयक पेश गरेका छौँ। विरोध अलिअलि सुरू भएको छ। लोकतन्त्रमा विरोध त भइहाल्छ।’
उनले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैलाउने, धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिनु देशद्रोह सरह हुने बताए। मन्त्री गुरुङले भने, ‘कसैले भन्छ, मनपरी लेख्न पाउने, सबैकुरा भन्न पाउने, देशको बारेमा मनपरी भन्न पाउने नै लोकतन्त्र हो भने त्यसमा हाम्रो सहमत छैन। त्यो प्रेस फ्रिडम होइन। जनताको सूसुचित हुने अधिकार खोसिनु भएन। त्यसको ग्यारेन्टी हुनुपर्यो।’
लोकतन्त्र बलियो बनाउन नियमन आवश्यक
मन्त्री गुरुङले अराजकतालाई अन्त्य गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने बताएका छन्। उनले भने, ‘स्वच्छन्दताले लोकतन्त्र बलियो हुन्छ भन्ने लाग्दैन हामीलाई। अराजकताले लोकतन्त्र बलियो हुन्छ भन्ने पनि लागेन हामीलाई। त्यसकारणले अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सक्छौँ।’
उनका अनुसार, स्वच्छन्दतावाद, उश्रृंखलतावाद, र विखण्डनवादको विरुद्धमा कदम चालेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिन्छ। उनले थपे, ‘हामीले यसै कारणले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा पेस गरेका छौँ।’
साइबर अपराध नियन्त्रण गर्ने ऐन आउँदै
मन्त्री गुरुङले नेपालमा साइबर अपराधका घटनाहरू बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए। उनले भने, ‘गत महिनामात्रै साइबर क्राइमका माध्यमबाट करोडौँ जनताको पैसा हिनामिना गरियो। लुटियो। अपराधीहरू फेला परेका छैनन्। साइबर क्राइम नियन्त्रण गर्ने ऐन चाहिन्छ।’
उनका अनुसार, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको छ र चालु अधिवेशनमै पेस गरिनेछ। उनले भने, ‘हामीले यो विधेयक संसद्मा पेस गर्छौं।’
सामाजिक सञ्जाल दर्तालाई सहज बनाउने
मन्त्री गुरुङले नेपालमा दर्ता हुन चाहने सामाजिक सञ्जालका लागि सरकारले सहज वातावरण मिलाउने बताए। उनले भने, ‘दर्ता हुन आउनेलाई सरकारले पूर्ण सहयोग गर्नेछ। तर, दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालन गर्न दिइने छैन।’
सञ्चारमन्त्री गुरुङका यी अभिव्यक्तिहरूले नेपालमा सामाजिक सञ्जाल सञ्चालनको नियमन कडाइ गर्न सरकार प्रतिबद्ध रहेको संकेत गर्छ। अब फेसबुक र अन्य ठूला सामाजिक सञ्जाल नेपालमा दर्ता हुन आउँछन् कि प्रतिबन्धमा पर्छन् भन्ने हेर्न बाँकी छ।