रवि लामिछानेको बयान सुरु: साहारा चितवन सहकारी ठगी प्रकरणमा अदालतको कारबाही अघि बढ्दै

Chitwan District Court 1024x500 1

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको साहारा चितवन सहकारी ठगी प्रकरणमा बयान सुरु भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा आज बिहान ११:०८ बजेबाट लामिछानेको बयान लिइएको हो।

लामिछानेको मुद्दा (क) नम्बरमा रहेकाले उनको बयान पहिलो प्राथमिकतामा राखिएको छ। बयानपछि थुनछेक बहस हुनेछ, जसपश्चात अदालतले उनलाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने निर्णय गर्नेछ।

मंगलबार चितवनमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। १२ जनाविरुद्ध संगठित अपराध र ठगी दुवै अभियोगमा मुद्दा दर्ता भए पनि लामिछानेविरुद्ध ठगी अभियोग मात्र दर्ता गरिएको थियो। कास्की, काठमाडौं, र रुपन्देही जिल्ला अदालतमा भने उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको छ।

मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा गरिएको थियो।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लिएको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको तर, चितवनमा आफैंले ऋण लिएको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताइएको छ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोड रुपैयाँका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ। यो रकम खर्च गर्न उनले ८१४ वटा चेक काटेको विवरण पनि समावेश छ।

यो प्रकरणको थप विवरण र अदालती निर्णयका लागि हामी निरन्तर अपडेट प्रदान गर्नेछौं।

समन्धित समाचार